काठमाडौं – बारा कलैयाका सोनालाल पटेल काठमाडौंमा नै बस्छन्। आइतबार राती ८ बजे उनले कलैयामा रहेकी श्रीमतीलाई फोन गरे। फोनमा श्रीमतीले हावाहुरी चलिरहेको र धेरै क्षती भएको खबर सुनाए।
खबर सुन्नेवित्तिकै उनी आत्तिए। त्यसपछि उनले आफन्तको हालखबर बुझे। सबै सकुसल रहेको खबर पाएपछि केही शान्त भए।
तर, बारामा हावाहुरी रोकिएको थिएन। इता, पटेलको मनमा पनि डरको हुन्नरी बेस्सरी चलिरहेको थियो। फोन राखेको करिब आधा घण्टापछि उनको फेरि फोनमा कुराकानी भयो। उताबाट खबर आयो, ‘दिदीभिनाजुको घर भत्कियो, उनीहरु सबै घाइते छन्।’
पटेलको मनमा आत्तियो। उनी रातभर सुत्न सकेनन्। पटक पटक फोन गर्दै दिदी भिनाजु र भान्जाको खबर बुझिरहे। भिनाजु र भान्जाको अवस्था सामान्य रहे पनि दिदी गम्भिर भएको खबरले उनी निकै चिन्तित थिए।
सोमबार बिहान दिदी गीतासहित भिनाजु सुरेश र भान्जा अमनलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको खबर पाए। उनी झनै आत्तिए। बिहानै त्रिवि शिक्षण अस्पताल पुगे।
तर, दिदी, भिनाजु र भान्जा भने बल्ला ११ बजे मात्र अस्पताल आइपुगे। सबैलाई देखेपछि उनी केही खुसी भए। ‘दिदी गीताको कम्मर र खुट्टामा चोट लागेका कारण शल्यक्रिया गर्नुपर्छ भनिएइको छ,’ त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर रहेका उनले भने, ‘भिनाजु र भान्जा भने हिँडडुल गर्न सक्ने अवस्थामा हुनुहुन्छ।’
उनलाई भिनाजुले दिएको जानकारी अनुसार खाना खाएर गफ गरिरहेको समयमा गाउँमा बेस्सरी हावाहुरी चलेको थियो। सुरुमा सानो हावा चलेपनि केहीबेरपछि डरलाग्दो आवाज सहित हावा चल्न थालेको थियो। त्यसको केही बेरपछि त घरको छानो उडाउने मात्र नभई भित्ता समेत भत्काइदिएछ।
‘घर नै भत्काएपछि भाग्ने क्रममा अर्को घर समेत लडेर दिदीको खुट्टा तथा कम्मरम ाचोट लागेको रहेछ,’ पटेलले सुनाए। उनका अनुसार भान्जाको टाउकोमा समान्य चोट छ भने भिनाजुको खुट्टा र कानमा चोट छ।
शिक्षण अस्पतालमा नै उपचाररत अर्का बिरामी हुन् ३८ वर्षिय क्रिशन पटेल। पटेल आफ्नै घर लड्दा घाइते हुन पुगेका हुन्। उनका अनुसार गाउँका ८० प्रतिशत घर भत्किएका छन्। उनलाई गाउँलेले उद्धार गरेर उपचारका लागि अस्पताल लगेका हुन्।
हावाहुरीका कारण नै घाइते भएकी पर्साकी ५ वर्षिया समिना खातुनको टाउकोमा गम्भिर चोट लागेको छ। सिटी स्क्यानमा उनको टाउकाको हड्डी दबिएको देखिएको छ। अस्पतालले उनको अप्रेसन गर्नुपर्ने बताएको छ।
अस्पतालमा बारा र पर्सामा हावाहुरीका कारण घाइते भएका ९ जनाको उपचार भइरहेको छ। सुरुमा अस्पतालमा ७ जनालाई उपचारका लागि ल्याइएको थियो। पछि थप दुई जनालाई पनि उपचारका लागि ल्याइएको हो।
उपचारका लागि ल्याइएकोमध्ये गम्भिर अवस्थामा रहेका गीतादेवी पटेल, मोहम्मद मिया, समिना खातुनलाई रेड जोनमा राखिएको छ।
उपचाररत घाइतेको अवस्था बुझ्न पुगेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले घाइतेको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन्।
आइतबारको हावाहुरीका कारण बारा र पर्सामा २७ जनाको ज्यान गएको छ भने ६ सयभन्दा बढी घाइते भएका छन्।