काठमाडौं- नेपाल न्यूरो सर्जन समाज (निसोन )को दोस्रो अन्र्तराष्ट्रिय तथा सातौँ राष्ट्रिय सम्मेलन काठमाडौंमा भोली बिहिबारदेखि सुरु हुदैँछ।
सम्मेलनमा निसोनले पहिलो पटक विश्व फेडेरेशन अफ न्यूरोसर्जिकल सोसाइटीको एजुकेशन कोर्ष नेपालमा गर्न लागेको जानकारी दिएको छ।
निसोनका अध्यक्ष प्राडा मोहनराज शर्माले एजुकेशन कोर्षमा मस्तिष्क नशा तथा मेरुदण्डसम्बन्धी रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धान, न्यूरोसर्जरीसम्बन्धी रोगको निदान र उपचारबारे छलफलले बताए।
उनले भने, ‘विश्वका वरिष्ठ न्यूरोसर्जनहरुले न्यूरोसर्जरीमा अपनाइएका अन्र्तराष्ट्रिय पद्दति, प्रविधि र नयाँ विकास भएका उपकरणबारे बताउनेछन् भने हामीले पनि नेपालमा गरिरहेको उपचार पद्दतिबारे विचार आदानप्रदान गर्ने छौँ।’
एजुकेशन कोर्षका लागि चीन, अष्ट्रेलिया, पोर्चुगल, जापान, भारत, अष्ट्रियाबाट आएका १० र नेपालका ४ न्यूरो सर्जरी सम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ।
सम्मेलनमा स्वदेशी विदेशी न्यूरोसर्जन, न्यूरोलोजिष्ट, न्यूरो नर्स, फिजियोथेरापीष्टलगायत १५० बढीको सहभागिता हुने बताइएको छ। सम्मेलन चैत २३ गतेसम्म चल्नेछ।
पत्रकार सम्मेलनमा निसोकका उपाध्यक्ष डा कृष्ण शर्माले नेपालमा टाउकोमा चोट लागिसकेपछि सम्बन्धी अस्पताल र सम्बन्धीत चिकित्सककहाँ निकै ढिलो गरी पुग्दा धेरैजसो बिरामीको मृत्यु हुने वा पक्षघात हुने अवस्था रहेको बताए।
अन्तिम समयमा आइपुग्दा न्यूरोसर्जनले चाहेरपनि केही गर्न सक्ने अवस्था हुदैँन,’ उनले भने ।
उनले टाउकोमा चोट लागेपछि न्यूरोसर्जन भएका अस्पतालमा उपचारको सक्दो चाँडो उपचार हुने बारे सोच्नुपर्छ, त्यसका लागि जनचेतना पनि आवश्यक भएको उनले बताए। निसोकका महासचिव डा प्रविण श्रेष्ठले न्यूरोसर्जरी सेवा दिनका लागि न्यूरोसर्जरीमा आवश्यक उपकरण, औषधिलगायतको पनि व्यवस्था महत्पूर्ण हुने बताए । ‘उपकरण, भौतिक पूर्वाधार भएन भने हामीले गएर केही उपचार सेवा दिनै सक्दैनौँ नि।’
निसोकका संयुक्त सचिव डा अमित थापाले नेपालमा न्यूरोसम्बन्धी उपचार महंगो रहेको बताउदैँ सरकारले दिएको विपन्न उपचार सहुलियत पनि सबै अस्पतालमा उपलब्ध नभएको बताए।
उनले भने,‘ हामीकहाँ शल्यक्रिया शूल्क अलि सस्तो छ तर त्यसपछि हुने खर्च आइसियू, औषधि, फलोअपलगायतका अन्य खर्च निकै महंगो छ।’
नेपालमा ८० जना न्यूरोसर्जन भएको निसोकको भनाई छ। भने करिब २० जना न्यूरोका रेजिजेन्ट डाक्टर छन्।