काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिवलाई मन्त्रालयमा पुगेर एक जना प्राध्यापकले तँ तँ भन्दै मनपरी गाली गरेका छन्।
मन्त्रालयको दोस्रो तलामा आफ्नो कार्यकक्षमा बसिरहेका डा दीपेन्द्र रामण सिंहलाई आफूलाई प्राध्यापक बताउने एक व्यक्तिले मनपरी गाली गरेका हुन्। गाली गर्ने व्यक्ति अन्य दुई जनासँगै डा सिंहको कार्यकक्षमा पुगेका थिए।
डा सिंहमाथि मनपरी गाली गर्ने समयमा मन्त्रालयका अन्य सहसचिवहरु डा विकास देवकोटा, महेन्द्र श्रेष्ठ, जनार्दन गुरागाईं, डा मदन उपाध्याय, स्वास्थ्यकर्मी दीपक भट्ट लगायतका अन्य कर्मचारी पनि थिए।
सुर्खेतको अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको विषयमा भएको अध्ययन प्रतिवेदनका विषयमा असहमति जनाएका ती व्यक्तिले थप अनुसन्धानको माग गर्दै आएका थिए। उनीहरुले यसअघि ९ पटकसम्म प्रतिवेदनका विषयमा डा सिंहसँग कुराकानी गरेका थिए।
तर, डा सिंहले उक्त विषयमा प्रष्ट जानकारी नदिएको भन्दै उनले बुधबार मन्त्रालयमा आएर आक्रोश पोखेका हुन्। आक्रोशित उनले मनपरी गाली गरेपछि सुरक्षाकर्मी नै बोलाउनु परेको थियो। उनको नाम भने गोप्य राखिएको छ।
सुरक्षाकर्मी आएपछि पनि उनले सुरक्षाकर्मीलाई देखाउँदै ‘तपाईहरुको आइजिपी सर्वेन्द्र खनाल त मेरो विद्यार्थी हो’ भनेका थिए।
बिरामीको मृत्युको विषयको संवेदनशिल फाइल भएकाले मन्त्रालयका कर्मचारीहरुले यो विषयमा थप काम अगाडि बढाउने लगायतका कुरा गरेपछि उनी शान्त भएका थिए।
डा सिंहले कार्यकक्षमा आएर एक व्यक्तिले गाली गरेको स्विकार गर्दै भने, ‘उहाँको केही कुरामा असहमति थियो। यहाँ आएर आक्रोश पोख्नु भयो।’ उनले जनताको काम गर्ने क्रममा कहिलेकाँही यस्तो घटना हुने बताए।