फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्रीले गरेको प्रतिबद्धता र सरकारले गरेको सहमतिविपरीत कर्मचारी समायोजनको सूची प्रकाशित भएपछि सरकारी डाक्टरले विरोध जनाएका छन्। शुक्रबारदेखि देशभरका सरकारी अस्पतालमा डाक्टरले फेरि आन्दोलन चर्काउने घोषणा गरेका छन्।
सरकारी चिकित्सक संघ (गोदान)ले बुधबार डाकेको आकस्मिक बैठकले समायोजनको विरोध गर्दै शुक्रबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो।
संघले डाकेको छलफलमा अधिकांश डाक्टरले प्रधानमन्त्री केपी शर्मा ओलीको इमान्दारितामाथि प्रश्न उठाएका थिए। उनीहरूले प्रधानमन्त्रीले गरेको प्रतिबद्धता समेत पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्।
‘प्रधानमन्त्रीले सरकारी डाक्टरको विश्वासमाथि नै प्रहार गर्नुभयो,’ छलफलमा सहभागी एक डाक्टरले भने, ‘जब प्रधानमन्त्रीकै प्रतिबद्धता पूरा हुँदैन भने यो देशमा अरु के होला?’
संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले छलफलमा सहभागी भएका डाक्टरहरुको सुझाव अनुसार नै शुक्रबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय भएको बताए।
‘हामीलाई पटक पटक धोका भयो,’ उनले भने, ‘त्यही भएर हामीले फेरि आन्दोलनमा जाने निर्णय गरेका हौँ।’
उनले सरकारले माग पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने बताए।
संघले डाक्टरको दरबन्दी संघअन्तर्गत राख्दै आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको छ।
संघको यो मागका विषयमा प्रधानमन्त्रीले पूरा गर्ने आश्वासन पनि दिएका थिए। प्रधानमन्त्रीको आश्वासन पछि संघले यसअघि सुरु गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो।
संघले गत पुसदेखि नै पटकपटक समायोजनका विषयलाई लिएर आन्दोलन गर्दै आएको छ।