काठमाडौं– नेपाल चिकित्सक संघले सरकारी चिकित्सक संघ (गोदान)ले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ।
गोदानले हिजो बुधबार आकस्मिक बैठक बसी सरकारले सहमति विपरीत समायोजन गरिएको भन्दै शुक्रबारदेखि आन्दोलनको घोषणा गरेको छ।
संघले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकारले सरकारी चिकित्सकहरुको समायोजन सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल चिकित्सक संघका महासचिव डा लोचन भट्टराईले जारी गरेको विज्ञप्तिमा सरकारी चिकित्सकहरुका माग अबिलम्व सम्बोधन गर्न माग गरेका छन्।
उनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सकहरुलाई राज्यले मानमर्दन गर्ने, बेवास्ता गर्ने कार्य दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन्।
‘सरकारको यस्तो कार्यले सेवामुखी पेसाप्रति आकर्षण घटाउन, चिकित्सकको मनोबल घटाउने भएकाले यथाशीघ्र सम्बोधन गर्न सरकारसमक्ष जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।