काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण अब सरकारी अस्पतालले पनि गर्न पाउने भएका छन्।
स्वास्थ्य परीक्षणका आवश्यक मापदण्ड पूरा गरेका सरकारी अस्पतालले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ।
लामो समयदेखि निजी मेडिकल संस्थाहरूबाट हुँदै आएको कामदारको स्वास्थ्य परीक्षण सरकारी अस्पतालबाट पनि गराउने गरी काम सुरु भएको मन्त्रालयका सह–सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
केही समयअघि मात्रै मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने मापदण्ड पूरा भएका स्वास्थ्य संस्थालाई सूचीकरण हुन आह्वान समेत गरिसकेको छ।
‘सरकारी अस्पतालले भने सूचीकरण हुनु पर्ने नियम छैन’, घिमिरेले भने, ‘आवश्यक मापदन्ड पुगेका अस्पतालले मन्त्रालयमा सूचना दिएपछि स्थलगत निरीक्षण गरी कामदारको स्वास्थ्य परीक्षणका लागि स्वीकृत दिन्छौं।’
मलेसिया रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने संस्था ३७ वटा रहँदै आएकोमा अब मलेसियाले पठाएको स्वास्थ्य परीक्षण मापदण्ड पूरा भएका जुनसुकै पनि स्वास्थ्य संस्था स्वास्थ्य परीक्षणमा आबद्ध हुनसक्ने घिमिरेले जानकारी दिए।
उनले भने, ‘निजी होस् वा सरकारी मलेसियाले तोकेको मापदण्ड पूरा गरेका देशैभरीका स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षणमा आबद्ध हुन सक्छन्।’
१० महिनादेखि बन्द रहेको मलेसिया रोजगारीमा नयाँ कामदार भर्ना प्रक्रियाका लागि मलेसियाले स्वास्थ्य परीक्षण मापदण्ड एक साता अगाडि मात्रै पठाएको थियो।
यसअघि मलेसिया रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने ३७ वटा स्वास्थ्य संस्थासहित अन्य विभिन्न मुलुकमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने २ सय २६ वटा स्वास्थ्य संस्थालाई मात्रै सरकारले स्वास्थ्य परीक्षण अधिकार दिएको थियो।
६ वर्ष अगाडि २०६९ सालदेखि स्वास्थ्य परीक्षणका लागि नयाँ स्वास्थ्य संस्थाहरू सूचीकरण हुन पाएका थिएनन्।