बागलुङ– काठेखोला गाउँपालिका–७ स्थित रेश स्वास्थ्य चौकीमा फिजियोथेरापी सेवा सुरु भएको छ।
सो सेवाको शुक्रबार गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले उद्घाटन गरे।
स्थानीय ७३ वर्षीय लिलबहादुर कुँवरलाई फिजियोथेरापिष्ट सुजन कार्कीले पहिलो सेवा प्रदान गरेका थिए। अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक र हाडजोर्नी तथा नशाका बिरामीलाई लक्षित गरी सेवा सुरु गरिएको हो।
सेवा सञ्चालनका लागि अन्तर्राष्ट्रिय नेपाल फेलोशिप (आइएनएफ) को समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सिबिआर) ले उपकरण उपलब्ध गराएको हो।
फिजियोथेरापीमा प्रयोग हुने अल्ट्रासाउण्ड, टेन्स, हिटिङ प्याड, सोल्जर ह्विललगायत गरी १२ प्रकारका उपकरण पनि शुक्र+बारनै स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो।
सर्वसाधारणलाई गाउँमै फिजियोथेरापी सेवा मिलोस् भन्ने उद्देश्यले निःशुल्क रुपमा सामग्री प्रदान गरिएको सिबिआरका अधिकृत सूर्यबहादुर कुँवरले बताए।
'अपांगता भएकासँगै अन्य बिरामीले पनि यसबाट सेवा लिन सक्नहुनेछ', उनले भने। कूल रु ५९ हजार ४सय मूल्य बराबरका उपकरण स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको हो।
फिजियोथेरापी सेवा सञ्चालनका लागि (सिबिआर) का फिजियोथेरापिष्ट कार्कीले स्वास्थ्य चौकीका स्वास्थ्य सहायक ललिता घिसिङलाई एक महिने तालीम प्रदान गरेका थिए।
मांसपेशी, हाडजोर्नी, नशा र स्नायुसम्बन्धी बिरामीलाई सेवा उपयोगी हुने फिजियोथेरापिष्ट कार्कीले बताए। 'अपांगताका कारण अशक्त हुनुभएका व्यक्तिलाई पनि यो प्रभावकारी उपचार विधि ह', उनले भने।
शरीरको दुखाइ कम गर्न, जोर्नीको चाल बढाउन र मांसपेशीलाई आराम दिलाउन फिजियोथेरापी गर्ने गरिन्छ। ज्येष्ठ नागरिक, अशक्त र बिरामीका लागि चाहिने व्यायामका रुपमा समेत फिजियोथेरापीलाई लिइन्छ।
सेवाको निरन्तरताका लागि जनशक्ति व्यवस्थापनको खाँचो रहेको स्वास्थ्य चौकी इञ्चार्ज रामचन्द्र लामाले बताए। 'फिजियोथेरापी गर्न महँगो खर्च गरेर सदरमुकाम जानुपर्ने बाध्यता हटेको छ', उनले भने, 'सेवा प्रभावकारी रुपमा सञ्चालन गर्न थप जनशक्ति आवश्यक छ।'
गाउँपालिकाका अध्यक्ष थापाले ग्रामीण भेगको स्वास्थ्य सेवामा फिजियोथेरापीको सुविधाले नयाँ आयाम थपेको उल्लेख गरे। 'गाउँपालिकाका अन्य स्वास्थ्य चौकीमा पनि यो सेवा सुरु गर्न प्रयास गर्छौं,' उनले भने, 'गुणस्तरीय स्वास्थ्य सेवाका लागि लगानी बढाउन गाउँपालिका पनि तयार छ।'
वडाध्यक्ष तथा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रेम लामिछानेले पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापनमा मुख्य जोड दिइने बताए। '
सेवा सुरु भएसँगै यसको दिगोपना र प्रभावकारिताको चुनौती हाम्रा सामु छ', उनले भने, 'नागरिकस्तरीय स्वास्थ्य सेवा दिन हामी प्रतिबद्ध छौं।'
उनले स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए।