काठमाडौं– कर्मचारी समायोजनका विषयमा असहमति जनाउँदै आएका सरकारी चिकित्सकहरुले आइतबार पनि देशभरका सरकारी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।
शनिबार विज्ञप्ति जारी गर्दै सरकारी चिकित्सक संघ (गोदान) ले आफ्ना जायज माग यथाशीघ्र पूरा गर्न पुनः स्मरण गराएको छ। गोदानले सेवाग्राहीलाई थप मर्कामा नपार्न पनि सरकारलाई भनेको छ।
कुनै पनि सरकारी चिकित्सकले समायोजनपत्र बुझेमा त्यसको जिम्मेवार स्वयं हुने र संघले त्यस्ता कर्मचारीलाई पर्नजाने समस्यामा कुनै पहलकदमी वा साथ नदिने पनि विज्ञप्तिमा उल्लेख गरेको छ।
चिकित्सकहरूको अवमूल्यन हुने, स्वास्थ्य सेवा दिन हतोत्साहित हुने, असमान समायोजनले देशका अधिकांश भाग चिकित्सकविहीन हुने जस्ता चरम गैरजिम्मेवार समायोजन प्रक्रिया विरुद्ध सम्पूर्ण सरकारी चिकित्सकलाई आन्दोलनमा होमिन पनि संघले आह्वान गरेको छ।