रोल्पा- रोल्पाका सामुदायिक विद्यालयहरु विद्यार्थीको स्वास्थ्यप्रति संवेदनशील देखिन थालेका छन्। स्वस्थ विद्यार्थीले मात्रै सहज ढंगले सिकाइ हासिल गर्न सक्छ भन्दै उनीहरुले विद्यालयमा स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी नियुक्ति प्रक्रिया समेत थालनी गरेका छन्।
जिल्ला सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमुना मावि र पश्चिमोत्तर रोल्पामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७६ को वैशाखदेखि स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने भएका हुन्।
जीवनको अधिकांश समय बिताउने विद्यालयबाट उनीहरुको स्वास्थ्यप्रति संवेदनशील हुन जरुरी रहेको महसुस गरी नर्स वा एचए स्तरको स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी भर्ना प्रक्रिया थालनी गरेको ती विद्यालयले जनाएका छन्।
दुई हजार पाँच सय विद्यार्थीले अध्ययन गर्दै आएको बालकल्याण नमुना माविले स्वास्थ्यकर्मीको लागि विज्ञापन गरिसकेको जानकारी दिएको छ। ‘पदपूर्तिको लागि विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विज्ञापन प्रकाशित गरिसकेका छौं,’ विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले बताए।
विद्यालयमा दैनिक ८–१० जना विद्यार्थी बिरामी हुने गरेको बताउँदै पोखरेलले भने, ‘विद्यार्थी बिरामी पर्न थालेपछि उनीहरुको पढाइमा समेत असर गरिरहेको छ, प्राथमिक उपचारका सामानहरु विद्यालयमै राखेर विद्यार्थीको उपचार गर्ने तथा ठूलो समस्या देखिए नजिकको स्वास्थ्य केन्द्रमा रिफर गर्नेगरी स्वास्थ्यकर्मीलाई परिचालन गर्छौं।’
यत करिब ६ सय विद्यार्थीले अध्ययन गरिरहेको नेपाल राष्ट्रिय मावि मौलाबोट रांकोटले पनि निकट भविष्यमा स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न लागेको जानकारी दिएको छ। विद्यालयबाट टाढाको दुरीमा स्वास्थ्य संस्था रहेकाले विद्यार्थीको असुविधालाई ध्यान दिई शैक्षिक सत्र २०७६ को सुरुबाटै विद्यालयमा स्वास्थ्यकर्मी राख्ने तयारी गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल केसीले बताए।
‘स्टाफ नर्स वा एचएको दरबन्दी सिर्जना गरिसकेका छौं, पदपूर्ति गर्न बाँकी छ,’ प्रधानाध्यापक केसीले भने, ‘नमुना विद्यालय सञ्चालन अनुसूचीमा विद्यालयले राख्न पाउने औषधिको सूची व्यवस्था गरेको छ, सोही सूचीअनुसारको औषधि विद्यालय हाताभित्र राख्छौं।’
यी विद्यालयले विद्यार्थीको स्वास्थ्यमा देखाएको संवेदनशीलता सकारात्मक रहेको प्रतिक्रिया अभिभावकहरुले दिएका छन्। ‘विद्यार्थीको स्वास्थ्यलाई महत्व दिन जरुरी थियो, जिल्लाका दुई विद्यालयले ढिलै भए पनि यस कुराको बोध गर्नु सकारात्मक हो,’ बालकल्याण नमुना मावि लिवाङका अभिभावक कुलबहादुर डाँगीले भने।