चितवन– चितवनमा पहिलो पटक इन भिट्रो फर्टिलाइजेसन आइभिएफ अर्थात् टेस्ट टयुब बेबी गर्भाधान प्रक्रिया सुरु गरिएको छ।
चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरले आइभिएफ प्रविधिबाट कृत्रिम गर्भाधान प्रक्रिया सुरु गरेको हो।
कलेजले विश्व स्वास्थ्य दिवसको अवसर पारेर अस्पताल अन्तर्गतकै चितवन मेडिकल फर्टिलिटी सेन्टर स्थापना गर्दै टेस्ट टयुब बेबी गर्भाधान प्रक्रिया सुरु गरेको अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा हरिशचन्द्र न्यौपानेले जानकारी दिए।
अस्पतालले अत्याधुनिक प्रजनन् संरक्षण सेवा सहितको टेस्ट टयुब बेबी सेन्टरको स्थापना गरेको उनले बताए। जहाँ इन बिट्रो फर्टिलाइजेसन, इन्ट्रा साइटोप्लाज्मिक स्रप्स इन्जेक्सन र भ्रुण बैंकिङ सेवाहरु प्रदान गर्नेछ।
इन भिट्रो फर्टिलाइजेसन अर्थात् टेस्ट टयुब बेबी गर्भाधान प्रक्रियाको स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उद्धघाटन गरेका छन्।
सो अवसरमा मन्त्री यादवले सरकारले समेत नयाँनयाँ उपचार सेवा दिने लक्ष्य राखेको अवस्थामा चितवन मेडिकल कलेजले सुरु गरेको यो पहल आम जनताको लागि लाभदायक हुने विश्वास व्यक्त गरे।
यस्तो सेवालाई सर्वसुलभ, विश्वसनीय र गुणस्तरीयमा ध्यान दिन समेत मन्त्री यादवले आग्रह गरेका थिए।
कलेजका अस्पताल निर्देशक प्राडा दयाराम लम्सालले लगानी, प्राविधि र जनशक्तिको हिसाबले कठिन भए पनि सरकारको नीति तथा कार्यक्रमभित्र रहेर यो सेवा सुरु गरिएको जानकारी दिए।
चितवन मेडिकल कलेजका प्रसूति तथा स्त्री रोग विभाग प्रमुख डा उपेन्द्र पण्डितको अगुवाइमा यो सेवा सुरु भएको हो। एक हप्ताभित्र चितवनमा टेस्ट ट्युब बेबीबाट गर्भाधान प्रक्रिया सुरु गर्ने डा पण्डितले बताए। उनका अनुसार चितवन मेडिकल कलेजमा दैनिक २ देखि ३ जना दम्पति नि:सन्तानको समस्या लिएर आउने गरेका छन्।

उनका अनुसार फर्टिलिटी सेन्टर स्थापनासँगै सन्तान नभएका तर सन्तानको रहर भएका दम्पतिले विदेशमा गई उपचार गर्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।
३ करोडको लगानीमा बनेको यो सेन्टर भित्र छुट्टाछुट्टै ल्याब, अपरेसन कक्ष, विर्य संकलन, चेकजाँच, ड्रेस चेन्ज, परामर्श कक्ष तथा विश्राम कक्षहरुको व्यवस्था गरिएको छ।
काठमाडौंम ३ लाख रुपैयाँसम्म खर्च लाग्ने यो सेवा चितवनमा भने १ लाख ५० हजारदेखि २ लाख ५० हजार रुपैयाँमा सर्वसाधारणले लिन सक्नेछन्।
यसरी निकालिन्छ टेस्ट टयुब बेबी
विशेषज्ञहरुले महिलाको शरीरबाट अन्डा र पुरुषको वीर्य झिकेर प्रयोगशालामा निषेचन गराईन्छ। त्यसलाई सुईको माध्यमबाट गर्भासयमा स्थानान्तरण गर्छन्।
आइभिएफ प्रविधिमा महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई प्रयोगशालामा एउटा विशेष ट्युबा वा प्लेटमा राखिन्छ। जहाँ निषेचन हुन्छ। निषेचित भ्रुणलाई करिब ४८ घन्टापछि महिलाको गर्भासयमा प्रतिस्थापित गरिन्छ।
भ्रुण प्रतिस्थापन गरेपछि सामान्य शिशुसरह ९ महिना आमाको गर्भमै राखी शिशुको जन्म हुनसक्छ।
महिलाको डिम्ब र पुरुषको शुक्रकिट प्राकृतिक रूपमा निषेचित नभई प्रयोगशालामा उपयोग गरिने सिसाको प्लेटमा हुने भएकाले यो प्रविधि अन्तर्गत जन्मिएकालाई टेस्ट ट्युब बेबी भन्ने गरिन्छ।