काठमाडौं– वैदेशिक रोजगारीमा मलेसिया जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन १ सय २६ स्वास्थ्य संस्थाहरूले आवेदन दिएका छन्।
मलेसिया रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने मापदण्ड पूरा भएका १ सय २६ स्वास्थ्य संस्थाहरूले आज अन्तिम दिनसम्म आवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कानुन तथा फैसला कार्यान्वयन शाखाले जनाएको छ।
यसअघि मलेसिया रोजगारीमा जाने श्रमिकहरुको स्वास्थ्य परीक्षण ३७ वटा स्वास्थ्य संस्थाहरूले मात्रै गर्दै आएका थिए। अब भने मापदण्ड पूरा भएका देशैभरिका स्वास्थ्य संस्थाहरूले स्वास्थ्य परीक्षण गर्न पाउने भएसँगै सिण्डिकेटको अन्त्य हुने भएको हो।
आवेदन दिएका स्वास्थ्य संस्थाहरूबाट पनि मापदण्ड पूरा भएका स्वास्थ्य संस्थाहरूलाई छनोट गरी स्वास्थ्य परीक्षणका लागि सूचीकरण गरिने मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिए। ‘सबै मापदण्ड पूरा भएका र अघिल्लो आर्थिक वर्षको करसमेत चुक्ता गरेका स्वास्थ्य संस्थाहरूलाई सूचीकरणका लागि प्राथमिकतामा राखेका छौं,’ सहसचिव घिमिरेले भने।
मलेसिया रोजगारीका लागि पठाइने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड पूरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्ने उल्लेख गरिएको छ। जसअन्तर्गत अत्याधुनिक एक्सरे मेसिन, डिजिटल रेडियोग्राफी प्रविधि, एक्सरे रिपोटिङ रुम, पर्याप्त कुर्ने रुम सहितको रेडियोग्राफी डिपार्टमेन्ट हुनुपर्नेछ।
त्यसैगरी आधुनिक प्याथोलोजी डिपार्टमेन्ट हुनुपर्ने उल्लेख गरिएको छ। जसमा एकथान माइक्रोसप मेसिन, हट एअर ओभन, पूर्ण स्वाचालित इलिसा रिडर, बायोकेमेट्रि एनालाइजर, युरिन एनालाइजर, वाटर बाथ, रेफ्रिजेरेटर लगायत विभिन्न १७ प्रकारका आवश्यक उपकरण हुनुपर्ने मापदण्ड तय गरिएको छ।
केमिकल एण्ड रिएजेन्ट डिपार्ट अन्तर्गत प्रेग्नेन्सी परीक्षण, मृगौला परीक्षण, एचआइभी परीक्षण, ब्लडग्रुप र अन्य १४ प्रकारका परीक्षणका लागि आवश्यक केमिकल हुनुपर्ने उल्लेख छ।
मेडिकल सेन्टरमा रेडियोलोजिस्ट, प्याथोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, मेडिकल ल्याब टेक्निसियन, रेडियोग्राफर, अकाउन्टेन, मेडिकल रिपोर्ट किपर हेल्पर लगायत आवश्यकता अनुसारका कर्मचारीहरु हुनुपर्ने उल्लेख गरिएको छ।
त्यस्तै खुल्ला हल र उपयुक्त कुर्ने ठाउँ, डकुमेन्ट राख्ने उपयुक्त व्यवस्था, आवश्यक सेवा केन्द्र, डाक्टरका लागि आवश्यक सामग्रीसहित उपयुक्त कोठा, आवश्यक प्रशासकीय हल, जेनेरेटर लगायत भौतिक सुविधाहरू उल्लेख गरिएको छ।