चितवन– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले कर्मचारी समायोजनका विषयलाई लिएर आन्दोलनरत चिकित्सकलाई काममा फर्किन आग्रह गरेका छन्।
चितवनको भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले डाक्टरहरूको समस्या सरकारले चाँडै नै सम्बोधन गर्ने उल्लेख गर्दै काममा फर्किन आग्रह गरेका हुन्।
उनले चिकित्सकहरूको धर्म, कर्म र कार्य भनेको नै बिरामीहरूको उपचार भएकाले आन्दोलन नगर्न पनि आग्रह गरे।
‘चिकित्सकहरूको समस्या सरकारले बुझेकाले आन्दोलनरत चिकित्सकहरूले जनताको सेवामा अस्पतालमा काम गर्न थाले हुन्छ,’ उनले भने, ‘उनीहरूले राखेका सबै मागलाई संघीय निजामति ऐनले सम्बोधन गर्ने छ। त्यसकारण आन्दोलन रोकेर सेवामा फर्किन आग्रह गर्छु।’
मेडिकल कलेजहरूले विद्यार्थीहरुसँग अवैध रुपमा रकम असुल गरेको विषयमा सरकारले छानबिन गर्ने उल्लेख गर्दै स्वास्थ्य मन्त्री यावदले विद्यार्थीहरूले समेत अवैध रुपमा पैसा दिन नहुने बताए।