कञ्चनपुर– कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको तीन वर्षमा १४ प्रतिशत जनसंख्या मात्र आबद्ध भएको छ। नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास बोर्डमार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रमको आरम्भ गरेको थियो।
२०६८ को जनगणनाअनुसार कैलालीमा सात लाख ७१ हजार चार सय ७५ जनसंख्या रहेको छ। स्वास्थ्य विमाको प्रदेश कार्यालयको तथ्यांकअनुसार कैलाली जिल्लामा एक लाख दुई हजार पाँच सय २२ जना यस कार्यक्रममा आबद्ध भएका छन्।
कार्यालयका अनुसार बिमा कार्यक्रममा महिलाको सहभागिता बढी रहेको छ। यस कार्यक्रममा ५३ हजार ९ सय ९५ महिला र ४८ हजार पाँच सय २७ पुरुष आबद्ध भएको स्वास्थ्य बिमा कार्यालयको तथ्यांकमा उल्लेख छ।
स्वास्थ्य बिमा कार्यालयका अनुसार पछिल्लो समय नवीकरण गर्नेको संख्या पनि बढ्दै गएको छ। २०७२ साल चैत २५ गते पा“च सय १२ जनाले स्वास्थ्य बिमा गरेकोमा २०७३ साल चैत २५ गतेसम्म एक सय १२ जनाले मात्र नवीकरण गरेका थिए।
२०७२ साल जेठसम्म स्वास्थ्य बिमा कार्यक्रममा एक हजार ५३ जना आबद्ध भएकोमा तीन सय १६ ले मात्र नवीकरण गरेका थिए। त्यस्तै, असोजमा एक सय ६९ जना आवद्ध भएकोमा ७४ जनाले मात्र नवीकरण गरेका थिए। त्यस्तै, पुसमा एक सय ७० आवद्ध भएकोमा ७० जनाले नवीकरण गरेका थिए।
त्यस्तै, २०७३ साल चैत महिनामा चार सय ८० आबद्ध भएकोमा दुई सय ३४, जेठमा सात सय ८८ जना आबद्ध भएकोमा तीन सय ८३, असोजमा दुई सय ४३ जना आबद्ध भएकोमा ७६ र पुसमा दुई हजार तीन सय आठ जना आबद्ध भएकोमा एक हजार एक सय ६२ जनाले नवीकरण गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ।
सुदूरपश्चिमका सात जिल्लामा कार्यक्रम
स्वास्थ्य बिमा कार्यक्रम सुदूरपश्चिमका सात जिल्लामा बिस्तार गरिएको छ। कैलालीबाट सुरु भएको यो कार्यक्रम यस प्रदेशको बैतडी, बाजुरा, अछाम, बझाङ, कञ्चनपुर र दार्चुलामा बिस्तार भइसकेको छ।
बोर्डका अनुसार कैलाली, बैतडी, बाजुरा, अछाम र बझाङमा सेवा बिस्तार भइसकेको र दार्चुला र कञ्चनपुरमा जेठदेखि सेवा विस्तार गरिने छ। यस प्रदेशको डोटी र डडेल्धुरामा पनि बिमा कार्यक्रम बिस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यस प्रदेशको कुल जनसंख्यामध्ये १० दशमलव ३८ प्रतिशत जनसंख्या स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन्।
प्रदेशको कैलालीमा एक लाख दुई हजार पाँच सय २२, अछाममा १७ हजार तीन सय ५४, बैतडीमा छ हजार पाँच सय ६८, बाजुरामा १९ हजार आठ सय ७९ र बझाङमा २० हजार सात सय ९३ गरी एक लाख ६७ हजार एक सय १६ जनसंख्या विमा कार्यक्रममा आबद्ध भएको जनाइएको छ।
कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा एक करोड ५७ लाख ४४ हजार एक सय ७३ रुपैयाँ र आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म एक करोड ४५ लाख सात हजार नौ सय ६८ रुपैयाँ सेवाप्रदायक संस्थालाई भुक्तानी गरेको जनाएको छ।