काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा प्रयोगशालामा उपयोग हुने केमिकल्स तथा रिएजेन्टलगायतका वस्तु खेर फाल्ने गरिएको पाइएको छ। केन्द्रले बिरामीको ल्याब परीक्षणका लागि केमिकल खरिद गर्ने तर त्यसको उपयोग भने नगरी फाल्ने गरेको भेटिएको हो।
केन्द्रले खरिद गरिएका रिएजेन्टमध्ये ४० प्रतिशतभन्दा बढी रिएजेन्ट तथा केमिकल खेर फाल्ने गरेको तथ्य महालेखापरीक्षकको प्रतिवेदनले देखाएको हो। महालेखाले अस्पताललाई आन्तरिक नियन्त्रण प्राणाली सबल बनाई अधिकतम उपलब्धि प्राप्त गर्न सुझाब दिएको छ। यस्तै प्रयोगशालामा प्रयोग हुने सामग्रीको खेर जाने दर तोकी उपलब्धिको नम्स समेत स्वीकृत गर्न भनेको छ। यो अस्पतालसँगै महालेखाले भरतपुर अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पनि केमिकल खेर नफाली उचित व्यवस्थापन गर्न सुझाब दिएको छ।
मानव अंग प्रत्यारोपण केन्द्रले अस्पतालमा प्रयोगशाला परीक्षणको उचित व्यवस्थापन नगरी बिरामीलाई पुल्चोकस्थित निदान अस्पताल र आरोग्यम फाउन्डेसनमा पठाउने गरेको छ। मिर्गौला फेल भएका बिरामीलाई अस्पतालले भक्तपुरदेखि पुल्चोकलको निजी अस्पतालसम्म पठाएर दुःख दिइरहेको भन्दै बिरामीका आफन्तले गुनासो समेत गर्ने गरेका छन्।
अस्पतालकै केही कर्मचारीले त यो विषयमा अस्पताल निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई पटक पटक गुनासो गरेका थिए। उनीहरुले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने सबै परीक्षण केन्द्रमा नै गराउने व्यवस्था गर्न समेत माग गरेका छन्।
अस्पतालले बिरामीलाई निदान अस्पतालमा ल्याब परीक्षण गराउन डाक्टरलाई नै नर्स बनाएर समेत सिफारिस गराउने गरेको कुरा समेत केही समयअघि सार्वजनिक भएको थियो।
