बाँके - एक दशक लगाएर निर्माण गरिएको नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र अहिले पनि समस्यै समस्याग्रस्त बनिरहेको छ। १८ महीनामा निर्माण पूरा गर्नुपर्ने सम्झौताका साथ काम शुरु गरिएको उक्त तीनतले भवन १० वर्षमा भर्खरै मात्र पूरा भएको छ।
केन्द्रमा खानेपानी, बिजुलीका साथै चिकित्सक र औषधिको व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन। केन्द्रमा औषधि र चिकित्सकको अभावमा गाउँलेले अझै प्रभावकारी सेवा पाउन सकेका छैनन्। स्वास्थ्य केन्द्रको भवन भव्य बनाइएको छ। भवन हेर्दा कुनै ठूलो अस्पतालभन्दा कम छैन, तर त्यहाँ उपचार भने असम्भवजस्तै छ।
केन्द्रमा चिकित्सक र आवश्यकताअनुसारको औषधि ढुवानीका लागि गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयसमेत उदासिन रहँदै आएको छ। स्वास्थ्य केन्द्रका इञ्चार्ज मोहम्मद तैराव राईले नवनिर्माण गरिएको भवनमा बिजुली–पानीको सहज पहुँचसमेत नभएको बताए। उनी भन्छन्, 'बिजुली पानीको त राम्रो व्यवस्था छैन, औषधि र चिकित्सक त कुरै छोड्नुहोस्।'
उक्त केन्द्रमा दैनिक ४०-५० बिरामी आउँछन्, तर सामान्य रोगका समेत बिरामीलाई सिफारिश गर्नेबाहेक अरू उपाय छैन। स्वास्थ्य संस्थामा आवश्यक आधारभूत प्रविधि र जनशक्ति नहुँदा यहाँका बिरामी नेपालगञ्ज अथवा भारत जान बाध्य छन्। यहाँ चिकित्सकसहित १३ स्वास्थ्यकर्मीको दरबन्दी छ। अहिले १० कार्यरत छन्। उक्त स्वास्थ्य केन्द्रमा चिकित्सक आउँदैनन्।
चिकित्सकको अभावमा अनमी र नर्सले स्वविवेक प्रयोग गरेर उपचार गर्नुको विकल्प छैन। स्टाफ नर्स मीरा रावलले चार वर्षदेखि स्वास्थ्यचौकीमा काम गरिरहेको बताइन्। 'विशेषज्ञ चिकित्सक नहुँदा बिरामीलाई निको हुने आश्वासन दिएर पठाउनुबाहेक अरु विकल्प छैन', रावलले भनिन्, 'भवन बन्दैमा उपचार पाइँदैन।' बिरामीले समयमै प्रभावकारी उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनी बताँछिन्।
गाउँमै स्वास्थ्य संस्था भएपनि औषधि र चिकित्सको अभावले आफूहरु सानो रोगको उपचारका लागि पनि महङ्गो रकम खर्च गरेर भारत जाने गरेको नरैनापुर–३ की रजिया खाँ बताउँछिन्। आर्थिक अवस्था कमजोर रहेकी उनी त्यहाँ जाने आउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा रु ३० हजार खर्च हुने गरेको खाँको भनाइ छ। उनका अनुसार उक्त स्वास्थ्य संस्थाको अत्याधुनिक भवन बने पनि चिकित्सक र औषधि नहँदा बिरामीलाई झनै समस्या छ।
एमबीबीएस चिकित्सकको दरबन्दी पुरानै भएको गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले जानकारी दिए। उनका अनुसार चिकित्सक स्थायीरूपमा यहाँ बस्दैनन्। औँशीपूर्णिमाजस्तै आउनेजानेमात्र हो। चिकित्सकको दरबन्दी रहेको उक्त संस्था लामो समयदेखि अहेव, अनमीको भरमा चलिरहेको छ। गम्भीर अवस्थाका बिरामीले तुरुन्त उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने बाध्यता रहेको स्टाफ नर्स रावलले बताइन्।
'गाउँकै अस्पतालमा सेवा पाए अन्यत्र जानु पर्दैनथ्यो', स्थानीय अर्जुन यादवले भने, 'भवन बने पनि जाँच नहुँदा आकस्मिक बिरामीलाई झनै समस्या छ।' उनले नरैनापुर क्षेत्रका स्थानीयवासी बिरामी हुँदा उपचारका लागि भारत जाने गरेको बताए।
'यहाँबाट उपचारका लागि भारत नै जानुपर्छ। त्यहाँ जानेआउने भाडा, खाने खर्च र उपचार खर्च गरी एक पटकमा रु २० देखि ३० हजार खर्च हुन्छ,' उनले भने।
स्थानीय सैयद मुसताक अहमद शाहले १० कट्ठा जमीन स्वास्थ्य केन्द्रलाई दान गरेका थिए। त्यही जमीनमा अहिले प्राथमिक स्वास्थ्य केन्द्रको भवन बनेको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक खाँका अनुसार विसं २०५० मा नरैनापुरमा स्वास्थ्यचौकी स्थापना भएको थियो। भवन निर्माणका लागि विसं २०६६ मा बोलपत्र भएको थियो। रु तीन करोड ४० लाखमा भवन बनेको हो।