नयाँ वर्ष २०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण देशवासीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उच्च प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा यही मिति २०८३ वैशाख ६ र ७ गते देशभर एकैसाथ राष्ट्रिय भिटामिन 'ए' तथा जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन गइरहेको छ। सरकारले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सन् १९९३ देखि भिटामिन 'ए' क्याप्सुल र सन् २००१ देखि भिटामिन 'ए' सँगै जुकाको औषधि खुवाउने कार्यक्रमको सुरुवात गरेको थियो। हरेक वर्ष वैशाख र कात्तिक महिनामा सञ्चालन हुँदै आएको यो महाअभियान मन्त्रालयको निर्णय र परिपत्र अनुसार देशभर सञ्चालन हुने भएकाले आफ्ना भविष्यका कर्णधार ६ महिनादेखि ५ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी वा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सम्पर्क गरी अनिवार्य रूपमा औषधि सेवन गराउनुहुन हार्दिक अनुरोध गरिन्छ।
भिटामिन 'ए' एउटा यस्तो सूक्ष्म पोषक तत्व हो, जसले व्यक्तिको शारीरिक क्रियाकलापलाई नियन्त्रण गरी शरीरलाई विभिन्न किसिमका संक्रमणबाट जोगाउनुका साथै आँखालाई स्वस्थ राख्न मद्दत गर्दछ। यसले बालबालिकाको वृद्धि विकासमा सहयोग पुर्याउनुका साथै रतन्धो जस्तो घातक रोग र शरीरलाई लुलो, लङ्गडो वा अशक्त हुनबाट बचाउँछ। यो प्राकृतिक रूपमा आमाको बिगौती दूध, माछा, दूध, हरिया सागपात, कलेजो, अण्डा, पहेंला फलफूल र तरकारीहरूमा पाइने भए तापनि शरीरमा यसको पर्याप्त आपूर्तिका लागि सरकारले तयार पारेको सुरक्षित क्याप्सुल खुवाउनु आवश्यक छ। अभियान अन्तर्गत ६ महिनादेखि १२ महिनासम्मका बालबालिकालाई १,००,००० आई.यु. (आधा क्याप्सुल) र १२ महिना पूरा भई ५ वर्षसम्मका बालबालिकालाई २,००,००० आई.यु. (एक क्याप्सुल) भिटामिन 'ए' खुवाइन्छ।
यसैगरी, परजीवी नियन्त्रणका लागि सञ्चालित जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत १ वर्ष पूरा भई ५ वर्षसम्मका बालबालिकालाई अल्बेन्डाजोल ४०० मि.ग्रा. खुवाउने गरिन्छ। जसमा १ देखि २ वर्षसम्मका बालबालिकालाई २०० मि.ग्रा. (आधा चक्की) र २ देखि ५ वर्षसम्मका लागि ४०० मि.ग्रा. (एक चक्की) मात्रा तोकिएको छ। साथै, यो अभियानमा ६ महिनादेखि २ वर्ष मुनिका बालबालिकाहरूलाई बहु-सूक्ष्म पोषक तत्व 'बालभिटा' वितरण गरिनुका साथै ५ वर्ष मुनिका बालबालिकाहरूको कुपोषण अवस्था पत्ता लगाउन पाखुराको नाप लिने कार्य पनि सञ्चालन हुन्छ। शिशुलाई स्तनपान मार्फत भिटामिन 'ए' आपूर्ति गर्नका लागि सुत्केरी भएको ६ हप्ताभित्रका आमाहरूलाई समेत एक क्याप्सुल भिटामिन 'ए' खुवाउने व्यवस्था मिलाइएको छ।
नेपाल सरकारबाट निःशुल्क रूपमा वितरण गरिने यी औषधिहरू अत्यन्तै सुरक्षित र जीवन रक्षक छन्। यो राष्ट्रिय अभियानलाई भव्यताका साथ सफल पार्न प्रत्येक अभिभावक, शिक्षक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजको सक्रिय सहयोग र सहभागिता अपरिहार्य छ। आफ्ना बालबालिकालाई घातक रोगहरूबाट बचाउन र उनीहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्न यो वैशाख ६ र ७ गते सञ्चालन हुने कार्यक्रममा नजिकैको वितरण केन्द्रमा पुगी औषधि सेवन गराई आफ्नो कर्तव्य पुरा गरौँ।
-(भोजराज पोख्रेल स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी हुन्।)