बागलुङ - भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिका–७ स्थित भिमगिठे स्वास्थ्य चौकीको नयाँ भवन निर्माण हुने भएको छ। करिब ४ करोड ७ लाख १२ हजार ६२७ रुपैयाँ कुल लागत अनुमान गरिएको उक्त भवनका लागि भारतीय दूतावास र बडिगाड गाउँपालिकाबीच द्विपक्षीय सम्झौता भएको हो।
भवन निर्माणका लागि भारतीय दूतावासको २ करोड ९४ लाख ८३ हजार २८७ रुपैयाँ अनुदान सहयोग रहनेछ भने कुल लागतको ५ प्रतिशत रकम गाउँपालिकाले लगानी गर्नेछ। भारत सरकारको 'उच्च प्रभाव सामुदायिक विकास परियोजना' अन्तर्गत निर्माण हुन लागेको यस भवनको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय दूतावासका द्वितीय सचिव अजयकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको छ।
शिलान्यास समारोहमा बोल्दै अध्यक्ष अधिकारीले पुरानो भवन जीर्ण भएका कारण प्रभावकारी सेवा प्रवाहमा समस्या देखिएकाले गाउँपालिकाको अनुरोधमा भारत सरकारले सहयोग गरेको बताउनुभयो। उहाँले नेपाल–भारत द्विपक्षीय सहकार्यले स्थानीय पूर्वाधार विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
भवन निर्माणका लागि 'सोले तिलक निर्माण सेवा प्राली' सँग ठेक्का सम्झौता भइसकेको छ। गत फागुनमा भएको सम्झौता अनुसार निर्माण कम्पनीले १५ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो। यसअघि गत कात्तिक २४ गते भारतीय दूतावास र गाउँपालिकाबीच भवन निर्माणसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो। स्वास्थ्य क्षेत्रको विकासका लागि छिमेकी राष्ट्रको यो सहयोगले स्थानीय नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ।