काठमाडौं - आगामी जेठ १६ र १७ गते चितवनमा अनेमेकन सम्मेलन हुने भएको छ।
प्रत्येक ३/३ वर्षमा हुने अनेमेकन सम्मेलन यसपटक चितवनमा हुन लागेको एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो। अनेमेकन सम्मेलनमार्फत नेपाल चिकित्सक संघको पुरानो कार्यसमितिले नयाँलाई कार्यभार सुम्पिने प्रचलन रहेको पत्रकार सम्मेलनमा नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले बताए।
यस सम्मेलनमा अनुसन्धान समितिले गरेका विभिन्न अनुसन्धानहरू समेत पेश गरिने डा. तिवारीले बताए। सम्मेलनमा भाग लिनका लागि सबैलाई पायक पर्ने स्थान भएकोले सम्मेलन स्थलका रूपमा चितवनलाई छानिएको उनको दाबी छ।
सम्मेलन आयोजना गर्नका लागि जिम्मेवारी वहन गरेको नेपाल चिकित्सक संघ चितवन शाखालाई केन्द्रको तर्फबाट विशेष धन्यवाद दिइएको पत्रकार सम्मेलनमा डा. तिवारीले बताए।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले नेपाल चिकित्सक संघले स्थापनाको ७५ वर्ष पूरा गर्दै गर्दा काठमाडौँ लगायत विभिन्न जिल्लाहरूमा अनेमेकन सम्मेलन गर्दै आएको बताए। कार्यकाल २ वर्षको हुँदा प्रत्येक २ वर्षमा यो सम्मेलन हुने गरेकोमा हाल ३ वर्षे कार्यकाल बनाएसँगै ३ वर्षमा आयोजना गर्न थालिएको उनले जानकारी दिए।
यसपटकको सम्मेलन आधारभूत स्वास्थ्यमा केन्द्रित रहने उनले बताए। वैज्ञानिक सत्रमा उपचारमा प्रयोग हुँदै आएका नवीनतम प्रविधिहरूको प्रयोग कसरी गर्ने भन्नेबारेमा छलफल हुने उनले बताए। वैज्ञानिक सत्रमा जनस्वास्थ्य विज्ञ तथा देश तथा विदेशबाट आएका चिकित्सकहरूले सोधपत्र प्रस्तुत गर्ने अध्यक्ष डा. कार्कीले बताए।