काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आवश्यक पर्ने उपचार लगायतका स्वास्थ्य सेवाको संयोजन गर्ने जिम्मा नेपाली सेनाको अस्पताललाई दिइएको छ। राष्ट्रपति सीको सुरक्षालाई मध्यनजर गर्दै स्वास्थ्य सेवाको समन्वय गर्ने जिम्मा सेनाको अस्पताललाई दिइएको हो।
राष्ट्रपति सी शनिबार नेपाल आइपुग्ने छन्। उनी आइतबार नै फर्किने कार्यक्रम रहेको छ। यो अवधिमा आइपर्न सक्ने स्वास्थ्य सेवाका लागि सेनाको अस्पताल सहित वीर, त्रिवि शिक्षण, पाटन, निजामती अस्पताललाई समेत उपचार सेवा उपलब्ध गराउने गरी आवश्यक तयारी गर्न भनिएको छ। यसका साथै निजी क्षेत्रबाट नर्भिक, मेडिसिटी सहित ५० शय्याभन्दा माथिका अस्पताललाई तयारी अवस्थामा रहन भनिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो।
सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई प्रमुख र अन्य अस्पताललाई हव र स्याटेलाइट अस्पतालको रुपमा तयारी गरिएको हो। सी भ्रमणका क्रममा उनीसँगै र उनको आउजाउ गर्ने स्थानसहित अस्पतालहरुमा स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा रहने बताइएको छ।