जनकपुर- नारायणी उप-क्षेत्रीय अस्पताल वीरगञ्जमा मिर्गौला रोगीको डायलाइसिसको लागि उपलब्ध २ मेसिन थन्किएका कारण बिरामीहरू मर्कामा परेका छन्।
अस्पतालमा उपलब्ध रहेको डायलाइसिस कक्षमा ९ मध्ये ७ मेसिन मात्र प्रयोग भइरहेको छ। बाँकी रहेको दुई मेसिन थन्काएर राखिएको छ। जसकारण बिरामीले समयमै उपचार पाउन सकेका छैनन्।
एक वर्षअघि साँघुरो कक्षको कारण २ वटा मेसिन मात्र सञ्चालनमा ल्याइएको थियो। गत वर्ष भदौको तेश्रो सातादेखि साविकको आइसियु कक्षमा डायलाइसिस कक्ष सञ्चालन गरिएको छ। तर, नयाँ कक्षमा पनि सबै डायलाइसिन मेसिन सञ्चालन गर्नका लागि पर्याप्त ठाउँ नभएको बताइएको छ।
आइसियु कक्ष हाल इमर्जेन्सी कक्षको माथिल्लो तल्लामा सञ्चालन गरिएको छ।
डायलाइसिस कक्षकी इन्चार्ज स्टाफ नर्स ज्योति गुप्ताले भनिन्, 'अहिले ७ मेसिन सञ्चालनमा रहेको छ, बाँकी रहेका २ वटा डायलाइसिस मेसिन प्रयोगमा ल्याउन हालको कक्षमा पनि प्रयाप्त ठाउँ छैन। हामीलाई अझै पनि आवश्यक आकारको कक्षको अभाव छ।'
उनले ती २ मेसिन सञ्चालनमा नआए पनि मेसिनको नियमित सरसफाइ भइरहेको बताइन्।
कुल ९ मध्ये २ दाताले र बाँकी सरकारले उपलब्ध गराएको मेसिन हो। एकैसाथ ७ मेसिन सञ्चालनमा आएपछि विगतको जस्तो डायलाइसिसका लागि आउने बिरामीले उपचारका लागि प्रतीक्षा गर्नुपर्ने बाध्यताको भने अन्त्य भएको गुप्ताको दाबी छ।
गुप्ताले विगतमा मेसिन कम हुँदा बिरामीले लामो समय उपचारका लागि कुर्नुपर्ने बाध्यता हटेको बताउँदै उनले भनिन्, 'दैनिक १४ बिरामीको उपचार गरिरहेका छौं, हाल नियमित उपचारका लागि आउने बिरामी ४० छन भने अहिले प्रतीक्षामा बस्ने बिरामीको संख्या ८ देखि १० मात्र छ।’
उनले यदि बाँकी रहेका २ मेसिन पनि सञ्चालनमा आए कुनै पनि बिरामीले उपचारका लागि प्रतीक्षा गर्न नपर्ने स्थिति आउने बताइन्। हाल एक बिरामीलाई ३ देखि साढे ३ घण्टाको सेसनमा डायलाइसिस गरिन्छ।२०७१ असोज १३ बाट यो अस्पतालमा डायलाइसिस सेवा सुरु गरिएको हो। उपचार गराउन आउने अधिकांश पर्सा, बारा र रौतहट जिल्लाका मिर्गौलाका बिरामी हुने गरेका छन्।
बिरामीमध्ये महिलाको तुलनामा पुरुष बढी छन्। बिरामी ३० देखि ८५ वर्ष उमेरसम्मका हुने गरेको अस्पताल प्रशासनले जनाएको छ। बिरामीलाई सरकारले निःशुल्क उपचार सेवा उपलब्ध गराउँछ। तराईका सरकारी अस्पतालमध्ये वीरगञ्जपछि भरतपुर र जनकपुरमा मात्र डायलाइसिस सुविधा उपलब्ध रहेको छ।