काठमाडौं – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका – १० मा भएको बस दुर्घटनाका २३ घाइतेलाई काठमाडौँ ल्याइएको छ। घाइतेको राष्ट्रिय ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै छ।
सेनाको एम आई १७ हेलिकोप्टरबाट १३ जना र निजी क्षेत्रका अर्को एक हेलिकोप्टरमार्फत १० जनालाई काठमाडौँ ल्याइएको नेपाल प्रहरीले जनाएको छ।
सडकबाट उद्धार गरिएका केही घाइतेको भने धुलिखेल अस्पतालमा उपचार हुँदै छ।
सिन्धुपाल्चोकको भोटसिपा लिखु मोडमा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये ५ जनाको पहिचान भएको छ।
मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिकका-९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी छन्। महाजु बसका चालकसमेत हुन्।
दुर्घटनामा ११ जनाको मृत्यु भएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तमाङले बताए। उनका अनुसार घाइतेहरुको उद्धार कार्य जारी छ। बाँकी मृतकको भने सनाखत भइसकेको छैन।
इन्द्रावती गाउँपालिका-९, सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस दुर्घटनामा परेको हो।
बस सडकबाट करिब २ सय मिटर तल खसेको छ। बसमा सवार अधिकांश यात्रु दसैं मनाएर काठमाडौं फर्किंदै गरेका थिए।
बसमा ७० भन्दा धेरै यात्रु रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ। सडकबाट उद्दार सम्भव नभएकाले नेपाली सेनाको हेलिकोप्टर पनि उद्धारका लागि घटनास्थल पुगेको अध्यक्ष तमाङले बताए।