डडेल्धुरा– अमरगढी नगरपालिका–६ भजनेउटास्थित कुटीमा बस्दै आएका एक साधुको बुधबार साँझ शंकास्पद अवस्थामा शव फेला प¥यो। अन्दाजी ७६ वर्षीय उमाशंकर गिरी नामका ती साधुको शव भेटिएको स्थानमा ढुंगामा रगत पनि भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको थियो।
प्रहरीलाई मृतक गिरीको हत्या भएको शंका लागेको कारण थप अनुसन्धान गर्न पोष्टमार्टम (शव परीक्षण) गर्नुपर्ने भयो। त्यसका लागि जिल्ला प्रहरी कार्यालयको टोलीले गत बिहीबार बिहानै परीक्षण गर्न शव डडेल्धुरा अस्पतालमा पु¥याएको थियो।
त्यतिबेला अस्पतालमा दरबन्दी अनुसार एक मात्र डाक्टर नरेश श्रेष्ठ थिए। सूचना अधिकारी टंकप्रसाद पन्तका अनुसार पोष्टमार्टम गर्न चिकित्सकलाई एउटा विशेष तालिमको आवश्यकता हुन्छ। जुन डाक्टर श्रेष्ठले प्राप्त गरेका छैनन्।
पोष्टमार्टम गर्नु अनिवार्य भएकाले अस्पतालले छिमेकी जिल्ला अस्पताल बैतडीलाई शव परीक्षण गर्नका लागि त्यहाँबाट चिकित्सक पठाउन मागपत्र लेख्यो। बिहीबार पत्र पठाइसकेपछि शुक्रबार बिहान बैतडीबाट डाक्टर बसन्त जोशी आए र शव परीक्षण गरेर फर्के।
‘नजिकैको जिल्ला अस्पताल बैतडीमा शव परीक्षणको तालिम प्राप्त डाक्टर रहेछन्,’ अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले भने, ‘यहाँ चिकित्सक नहुँदा समस्या नै भयो, बिहीबार बिहान आएको शवको पोष्टमार्टम एक दिनपछि भयो।’
चिकित्सक अभाव झेलिरहेको अस्पताल
टिम अस्पतालका रुपमा परिचित हालको डडेल्धुरा अस्पताल सुदूरपश्चिमका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ २०२२ सालमा स्थापना गरिएको हो। यहाँका स्थानीय, राजनीतिक दलका नेताहरुले आन्दोलन नै गरेका कारण त्यतिबेलाको टिम अस्पताललाई सरकारले गत २०७५ फागुन ३ गते उपक्षेत्रीय अस्पताल घोषण गरेको थियो।
गत असारमा प्रदेश मातहतमा गएको अस्पताललाई गत फागुनमै संघको मातहतमा रहनेगरी उपक्षेत्रीय अस्पतालको नाम परिवर्तन गरेर ‘विशिष्ट’ सेवा सहितको डडेल्धुरा अस्पताल राखेर स्तरोन्नति गरियो।
कहिले प्रदेश सरकार त कहिले विशेषज्ञ सहितको सुविधा प्रदान गर्नेगरी संघीय सरकारको मातहतमा राखिएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा ७ पहाडी जिल्लाको स्वास्थ्य सेवा नै प्रभावित बनेको छ।
अस्पतालमा अहिले नेपाल सरकारका तर्फबाट १ सय ८ जनाको दरबन्दी स्वीकृत भएकोमा ३७ जनाको मात्र पदपूर्ति हुँदा ७१ जनाको पद रिक्त रहेको छ। त्यस्तै अस्पताल विकास समितिबाट ४२ जनाको पद स्वीकृत हुनुपर्नेमा ३४ जनाको पदपूर्ति भई ८ जनाको पद रिक्त रहेको छ। अस्पतालमा अहिले अन्य कर्मचारीको रुपमा करारमा ४५ र ज्यालादारीमा ७ जना कर्मचारी कार्यरत छन्।
यस अस्पतालमा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर अहिले अस्पतालमा छात्रवृत्ति करारबाट एक जना र अस्पताल विकास समितिबाट एक जना गरी करारमा ३ जना मात्र विशेषज्ञ चिकित्सक छन्। त्यस्तै अस्पतालमा १९ जना मेडिकल अफिसरको दबन्दी रहेकोमा हालसम्म ९ जना नेपाल सरकारको तर्फबाट र १ जना करारमा गरी जम्मा १० जना मात्र रहेका थिए।
त्यसमध्ये ६ जना अध्ययन तथा असाधारण बिदामा रहेको अस्पतालले जानकारी दिएको छ। बाँकी रहेका ४ जनामध्ये पनि ३ जनाको समायोजनपछि अस्पतालमा अहिले १ जना मेडिकल अफिसर मात्र रहेको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्त बताउँछन्।
‘यो अस्पताल संघको मातहतमा रहँदा पनि दरबन्दी अनुसार चिकित्सक नपाउँदा सेवा दिन अप्ठ्यारो भइरहेको छ’, उनले भने ‘एक जना मात्र स्थायी र तीन जना करारका डाक्टर भएकाले उपचार पद्धति कसरी अगाडि बढ्ने हो, अन्योलको अवस्था छ।’
दैनिक सयदेखि दुई सयसम्म बिरामी आउने यो अस्पतालमा रहेका डाक्टरलाई चेकजाँच गर्न नै धौधौ परेको छ।