काठमाडौं– युनिसेफले कमसल खानाको प्रयोगले संसारभरका बालबालिकाको स्वास्थ्य बिग्रिँदै गइरहेको बताएको छ। युनिसेफले हालै जारी गरेको प्रतिवेदनअनुसार गरिबी, सहरीकरण, जलवायु परिवर्तन र कमसल खानेकुराले बालबालिका अस्वस्थ बनाउँदै लगेको जनाएको छ।
नेपालका ४३ प्रतिशत बालबालिका कुपोषित रहेको र त्यसमा दुई वर्षमुनिका दुईमध्ये एक बालबालिकाले कमसल खाना खाने गरेको तथ्य पनि युनिसेफको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा विश्वका करोडौं बालबालिका कमसल खानाबाट प्रभावित हुनु चिन्ताजनक भएको चेतावनी युनिसेफले दिएको छ। युनिसेफले बालबालिका, खाना र पोषणको बारेमा जारी गरेको नयाँ प्रतिवेदनमा सो कुरा उल्लेख छ।
विश्वका बालबालिकाको अवस्था २०१९ः बालबालिका, खाना र पोषण (द स्टेट अफ द वल्र्डज चिल्ड्रेन २०१९ः चिल्ड्रेन, फुड एन्ड न्युट्रेसन)ले पाँच वर्ष मुनिका तीनमध्ये कम्तीमा एक बालबालिका वा २० करोडभन्दा धेरै—कम पोषण वा अधिक पोषणको सिकार भएको जनाएको छ।
प्रतिवेदनका अनुसार ६ महिनादेखि दुई वर्ष उमेरका तीनमध्ये झन्डै दुई बालबालिकालाई उनीहरुको शरीर र मस्तिष्कको विकासका लागि चाहिने खाना खुवाइएको छैन भनिएको छ। जसले गर्दा उनीहरुको मस्तिष्क विकास, सिकाइ, प्रतिरक्षा प्रणालीमा नकारात्मक प्रभाव पार्ने र संक्रमण बढ्ने हुनसक्छ साथै कतिपय अवस्थामा मृत्यु समेत हुने जोखिममा रहेको जनाएको छ।
नेपालको सन्दर्भमा हेर्ने हो भने युनिसेफले नेपालका बालबालिकाको पोषण स्थिति नाजुक भएको देखाउँछ।
पाँच वर्ष मुनिका ४३ प्रतिशत बालबालिका पुड्का, ख्याउटे वा मोटा छन्। त्यसैगरी, ६ महिनादेखि दुई वर्षसम्मका करिब ४५ प्रतिशत बालबालिकाले मात्र आठ खालका खाना समूहमध्ये कम्तीमा पाँच समूहको खाना खाइरहेका छन्। यो उमेर समूहका अधिकांश बालबालिकाले अन्न र गेडागुडी खाने गरेका छन् भने अन्डा वा माछा वा मासु खानेको संख्या एक तिहाइ मात्र छ।
युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले करोडौं बालबालिका अस्वस्थ खानामा बाँचिरहेका छन्, बालबालिकाले कमसल खाना खानाले उनीहरुको जीवन पनि त्यस्तो हुने उनले बताएका छन्। उनी भन्छन्, ‘बालबालिकासँग
राम्रो खानाको छनोट छैन। कुपोषण बालबालिकाले पर्याप्त मात्रामा खान पाउने मात्र नभई सही खाना खाने पनि हो। यो आजको हाम्रो साझा चुनौती हो।’
प्रतिवेदनले २१औं शताब्दीका बालबालिकामा देखिएका सबै खालका कुपोषणको सबैभन्दा विस्तृत मूल्यांकन उपलब्ध गराएको छ। पाँच वर्ष मुनिका बालबालिकाको कम पोषण, आवश्यक पोषकतत्वको कमीले भइरहेको नदेखिने भोकमरी र मोटोपना बढिरहेको बताएको छ।
यो प्रतिवेदनले नेपालको पोषण स्थितिको निम्न तथ्यलाई पनि उजागर गरेको छः
– ११ लाखबालबालिका पुड्का अर्थात् होचा छन्।
– करिब २९०,००० बालबालिका ख्याउटे अर्थात् दुब्ला छन् ।
– १३ लाखबालबालिका अर्थात् दुईमध्ये एक जनामा भिटामिन ए र आइरन जस्ता आवश्यक पोषक तत्वको कमी छ।
– करिब ३६,००० बालबालिका बढी तौलका वा मोटा छन्।
प्रतिवेदनले बालबालिकाको जीवनको सुरुवाती दिनबाट नै कमसल खानाको अभ्यास सुरु हुने गरेको चेतावनी दिएको छ। स्तनपानले जीवन जोगाउनसक्ने भए पनि, नेपालका ६६ प्रतिशत बालबालिकालाई मात्र पूर्ण स्तनपान गराइन्छ भने नवजात शिशुहरुलाई फर्मुला खुवाउने चलन बढ्दै गइरहेको तथ्य पनि सार्वजनिक गरेको छ।
६ महिनापुगेपछि बालबालिकालाई नरम वा ठोस खानेकुरा खुवाउन सुरु गरिन्छ तर धेरै बालबालिकालाई सुरुमै गलत खानेकुरा खुवाउन सुरु गरिने प्रतिवेदनले चिन्ता व्यक्त गरेको छ।
नेपालका ३८ प्रतिशत बालबालिकाले ६ महिनादेखि दुई वर्षको अवधिमा कुनै फलफूल वा तरकारी खान पाउँदैनन्। दुई तिहाइबालबालिकाले अन्डा, माछा वा मासु खाँदैनन्।
बालबालिका हुर्किदैं गर्दा उनीहरुलाई दिइने वा उनीहरुले खाने अस्वस्थकर खानेकुरा पनि निकै चिन्ताजनक रहेको युनिसेफ बताउँछ। अनुपयुक्त बजारीकरण र विज्ञापनले सहरसँगै ग्रामीण क्षेत्रमा तयारी खानेकुरा र अत्यधिक गुलियो पेयपदार्थ जस्ता प्रशोधित खानेकुराको खपत बढिरहेको छ।
न्यून तथा मध्यम आय भएका विद्यालय जाने उमेरका किशोरकिशोरीमध्ये ४२ प्रतिशतले दिनमा कम्तीमा एक पटक कार्बोनेटेड गुलियो पेय पदार्थ पिउने गरेको तथ्यांक छ भने ४६ प्रतिशतले सातामा कम्तीमा एक पटक तयारी खानेकुरा खाने गरेका छन्। उच्च आय भएका देशका किशोरकिशोरीमा यो संख्या क्रमशः ६२ प्रतिशत र ४९ प्रतिशत छ।
फलस्वरुपः संसारभर नै बालबालिका र किशोरकिशोरीेमा बढी तौल र मोटोपनाको मात्रा बढिरहेको छ। सन् २००० देखि २०१६ सम्मको अवधिमा, ५ देखि १९ वर्ष उमेरका बालबालिका र किशोरकिशोरीमा यो अनुपात दोब्बर बढेको छ। अहिले यो उमेरका ५ मध्ये १ बालबालिका र किशोरीकिशोरीमा मोटोपना देखिएको छ। सन् १९७५ को तुलनामा यो उमेर समूहका बालिकाहरु १० गुणा र बालकहरु १२ गुणा मोटोपनाबाट प्रभावित हुने गरेका छन्।
नेपालमा बालबालिका र किशोरकिशोरी (५ देखि १९ वर्ष) मा हुने मोटोपना पछिल्लो चार दशकमा २९ गुणाले बढेको छ। आज नेपालका यो उमेर समूहका १३ मध्ये १ जनामा मोटोपना छ। बढी तौल र मोटोपना आर्थिक अवस्था र घरको खाद्य सुरक्षासँगै बढ्ने गर्छ। यसका अर्थ, आर्थिक रुपले सम्पन्न र सहरका परिवारहरुमा मोटोपना हुने सम्भावना धेरै रहन्छ।
प्रतिवेदनका अनुसार सबै खालका कुपोषणको सबैभन्दा ठूलो भार गरिब र सिमान्तकृत समुदायका बालबालिका र किशोरकिशोरीमा छ। सबैभन्दा गरिब परिवारका ५ मध्ये १ ले मात्र स्वस्थ विकासका लागि चाहिने खानेकुरा पर्याप्त मात्रामा खान पाउँछन्।
प्रतिवेदनले जलवायु सम्बन्धी विपद्हरुले गम्भीर खाद्य संकट सिर्जना गर्ने कुरालाई पनि ध्यानाकर्षण गराएको छ। उदाहरणका लागि, खडेरीका कारण कृषिमा ८० प्रतिशत नोक्सानी र क्षति पुग्छ र यसले बालबालिका र परिवारका लागि उपलब्ध खानेकुरासँगै यो खानाको गुणस्तर र मूल्यमा पनि नाटकीय प्रभाव पार्छ।
सबै खालका कुपोषणको बढ्दो संकटलाई सम्वोधन गर्नका लागि, युनिसेफले सरकार, निजी क्षेत्र, दातृ निकाय, अभिभावक, परिवार र व्यापारिक समुदायलाई निम्न उपायहरु अवलम्बन गर्न जरुरी आव्हान गरेको छः
१. अस्वस्थ खानेकुराको माग घटाउन पोषण शिक्षा सुधार गर्ने र कानुनको प्रयोग गरी परिवार, बालबालिका र किशोरकिशोरीलाई पोषिलो खानाको माग गर्न सशक्त बनाउने।
२. स्वस्थ, उपयुक्त र पहुँच गर्न सकिने खानाको प्रावधानलाई प्रोत्साहन गर्दै खाद्यपदार्थ उत्पादक र आपूर्तिकर्तालाई बालबालिकाको हितमा काम गर्न लगाउने।
३. सही र बुझ्न सजिलो हुने लेबलको प्रयोग गर्दै र अस्वस्थकर खानेकुराको बजारीकरणमा कडा नियन्त्रण गर्दै बालबालिका र किशोरकिशोरीका लागि स्वस्थ खाद्य वातावरण सिर्जना गर्ने।
४. स्वास्थ्य, खानेपानी तथा सरसफाइ, शिक्षा र सामाजिक सुरक्षाजस्ता सहयोगी संयन्त्रको परिचालन गरी सबै बालबालिकामा पोषणको प्रतिफल विस्तार गर्ने।
५. कार्ययोजनालाई मार्गदर्शन गर्न र प्रगति विश्लेषण गर्न उच्चस्तरीय तथ्यांक र प्रमाणको संकलन, विश्लेषण र प्रयोग गर्ने।