काठमाडौं- नेपाल औषधि उत्पादक संघको नयाँ अध्यक्षमा जी नारायणबहादुर क्षेत्री विजयी भएका छन्। आज भएको संघको २५औं वार्षिक साधारणसभाले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
उनले प्रज्वलजंग पाण्डेलाई पराजित गरेका हुन्। क्षेत्रीले २७ मत प्राप्त गरेका छन् भने पाण्डेले २२ मत प्राप्त गरेका छन्। पाण्डे निवर्तमान कार्यसमितिका महासचिव हुन् भने क्षेत्री वरिष्ठ उपाध्यक्ष थिए।
दुवै प्रत्यसीबीच सहमति जुटाउने प्रयास भए पनि सफल नभएपछि मतदान भएको हो।
हरेक दुई वर्षमा हुने संघको नयाँ कार्यसमितिका लागि सुवर्णभक्त जोशी, प्रभात रूंगटा, विप्लव अधिकारी, सन्तोष बराल, पृथ्वी राजभण्डारी, महेश प्रसाद प्रधान, दिपेन्द्रबहादुर प्रधान, प्रेमबहादुर जाटिया र विजयराज शाक्य सदस्य पदमा विजयी भएका छन्।
संघको विधानअनुसार अध्यक्षले बाँकी कार्यसमितिको विभिन्न पदका लागि मनोनयन गर्ने परम्परा छ। नवनिर्वाचित अध्यक्षले सदस्य चुनिएकाबाटै अन्य पदमा मनोनयन गर्नेछन्।