काठमाडौं– नेपालमा सवारी दुर्घटनाका कारण प्रत्येक दिन ५ देखि ७ जना र वार्षिक २ हजारको हारहारीमा मुत्यु हुने हुने गरेको तथ्यांक सार्वजनिक भएको छ।
‘विश्व ट्रमा दिवस’ को अवसरमा राष्ट्रिय ट्रमा सेन्टरमा आज आयोजित कार्यक्रममा प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले यस्तो तथ्यांक सार्वजनिक गरेका हुन्।
काठमाडौँ उपत्यकामा साउन र भदौ महिनामा सवारी दुर्घटनामा परी २८ जनाको मृत्यु भएको छ।
आव २०७५/२०७६ मा उपत्यकामा सवारी दुर्घटनामा परी मृत्यु हुनेको संंख्या महिलाको तुलनमा पुरुष बढी देखिएका छन्।
विष्टका अनुसार उपत्यकामा सवारी दुर्घटनामा मृत्यु हुनेमध्ये महिला २४ प्रतिशत छन् भने पुरुषको संख्या ७६ प्रतिशत रहेको छ।
तथ्यांक अनुसार दुर्घटनामा मुत्यु हुनेको संख्या १६ वर्ष मुनिका ९ दशमलब २७ प्रतिशत रहेका छन् भने १७ देखि ३५ वर्षका ५३ प्रतिशत रहेका छन्। त्यस्तै ३६ वर्षमाथिका ३७ दशमलब ६ प्रतिशत रहेका छन्।
कार्यक्रममा राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक प्रमोदकुमार यादवले अस्पतालमा ट्रमा भएका बिरामीको तथ्यांक सार्वजनिक गर्दै आव २०७२/७३ मा चोटपटक लागेर ओपिडीमा आउने बिरामीको संख्या २८ हजार ३ सय २३ रहेकोमा अर्थिक वर्ष २०७५/७६ मा पुग्दासम्म बढेर ७९ हजार २ सय ३९ पुगेको यादव बताए।
त्यस्तै उनका अनुसार आर्थिक वर्ष २०७२/७३ इमर्जेन्सीमा आउने बिरामीको संख्या ५४६६ रहेको र आव २०७५/७६ सम्म पुग्दा बढेर १८ हजार २ सय ६३ पुगेका छन्। आव २०७२/७३ भर्ना हुनेको संख्या ३ हजार ७ सय ११ थिए भने अहिले बढेर ४ हजार २४ पुगेका छन्।
अर्थिक वर्ष २०७३/७४ मा ट्रमा भएर मृत्यु हुनेको संख्या २ दशमलब ४ रहेको र २०७५/७६ सम्म पुग्दा घटेर मृत्यु हुनेको संख्या घटेर १ दशमलब ८७ पुगेको उनले बताए। यादवका अनुसार अस्पतालमा सबैभन्दा धेरै हातखुट्टामा चोट लागेर अस्पताल आउने गरेका छन्।
हातखुट्टामा चोट लागेर आउने ६० प्रतिशत छन् भने टाउकोमा चोट लागेर आउनेको संख्या २० रहेको छ। बाँकी अन्य ठाउँमा चोट लागेर आउने गर्छन्।
डब्लुएचओको तथ्यांकअनुसार विश्वमा प्रत्येक दिन साढे ३ हजारको हाराहारीमा मानिसको मृत्यु सवारी दुर्घटनाले हुने गरेको छ। वार्षिक हेर्ने हो भने साढे १२ लाख मानिसको मृत्यु सवारी दुर्घटनाबाट हुने गरेको छ।