काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले स्वास्थ्यकर्मीलाई समायोजनका लागि भन्दै राजनीतिक दलको सोर्स लगाउने काम बन्द निर्देशन दिएका छन्।
‘विश्व ट्रमा दिवस’को अवसरमा राष्ट्रिय ट्रमा सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै राज्यमन्त्री यादवले समायोजनका क्रममा स्वास्थ्यकर्मीले संघमा बस्न पार्टीको साहारा लिई दबाब दिएको भन्दै यस्तो बताएका हुन्।
उनले भने, ‘पार्टीले पदस्थापना गर्ने होइन, पार्टीको सहायता लिँदा पदस्थापनामा गडबड हुन सक्छ। त्यसैले तपाइँहरु राजनीतिक पार्टीबाट टाढै रहनुस्। समायोजनमा सरकारलाई सहयोग गर्नुहोस्।’
राज्यमन्त्री यादवले वीर अस्पताल र ट्रमा सेन्टरका कर्मचारीले अन्य सरकारी अस्पतालको तुलनामा काम नगरेको भन्दै आक्रोस पोखेका थिए।
‘चिकित्सक बिहान ९ बजे अस्पताल आएर हाजिर गरेर गई पुनः साँझ ४ बजे हाजिर गर्न आइपुग्ने तथ्य मन्त्रालयसँग लुकेको छैन, राजनीतिमा होइन काममा ध्यान दिनुस्,’ उनले भने।
ट्रमा सेन्टरलाई वीर अस्पतालबाट अलग बनाई सरकारको मतहतमा रहने गरी छुट्टै सुविधा सम्पन्न अस्पतालको रुपमा विकसित गरिने योजना रहेको बताए।
स्वास्थ्य सचिव खगराज बरालले वीर अस्पतालको भिभिआइपी कक्ष कोही पनि उपचार गराउन नगएकोले यत्तिकै थन्किएको भन्दै व्यवस्थापन गर्नुपर्ने बताए।
उनले केही दिनअघि मात्र चिनियाँ राष्ट्रपति भम्रणको क्रममा वीर अस्पताललाई उपचारका लागि सिफारिस गरिएको तर चिनियाँ राजदूतावासले अस्वीकार गरेको बताए। उनले अस्पतालको व्यवस्थापन फितलो भएकाले राजदूतावासले अस्वीकार गरेको बताए।