काठमाडौं– स्वास्थ्य सचिव हुदाँ नियमविपरित सरुवा गरेको मुद्दा डा पुष्पा चौधरीले फिर्ता लिएकी छन्। चौधरीले स्वास्थ्य मन्त्रालयवाट प्रधानमन्त्री कार्यालय तानेपछि त्यस विरुद्ध सर्वोच्चमा २०७५ कात्तिक १५ गते रिट दायर गरेकी थिइन्। उक्त रिटलाई हालै उनले फिर्ता लिने निवेदन सर्वोच्चमा दिएकी थिइन्।
निवेदकले नै रिट फिर्ता लिन निवेदन दिएपछि सर्वोच्चको दुई न्यायाधीशको संयुक्त इजलाशले शुक्रवार उनको माग अनुसार हुने आदेश गरेको हो। न्यायाधीशद्धय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको इजलाशले स्वास्थ्य सचिव चौधरीको मुद्दा फिर्ता दिने आदेश गरेको हो।
उनको निवेदनमा शुरुमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि उनी स्वास्थ्य मन्त्रालयमै फर्केकी थिइन्। सर्वोच्चको आदेशपछि स्वास्थ्य मन्त्रालयमा दुई सचिव भएका थिए। चौधरीले अन्तरिम आदेश लिएर पुन स्वास्थ्य मन्त्रालय फर्केपछि सरकार पनि भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको थियो।
२०७५ असोज २८ गतेको मन्त्रिपरिषद् बैठकले सचिव डा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयविरुद्ध डा चौधरीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
कात्तिक १६ गते सर्वोच्चले सरकारका नाममा सचिव सरुवा कार्यान्वयन नगर्न र सरुवा गर्नुको कारण माग गर्ने आदेश जारी गरेको थियो। सर्वोच्चको उक्त आदेश प्रधानमन्त्री कार्यालयमा नपुग्दै सचिव चौधरी कात्तिक १८ गते स्वास्थ्य मन्त्रालयमा काम गर्न पुगेकी थिइन्।
डा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्नु न्यायसंगत र कानुनसम्मत रहेको विषयमा विभिन्न आधार प्रमाण प्रस्तुत गर्दै महान्यायाधिवक्ताको कार्यालय मार्फत निवेदन पत्र पेस गरेको थियो।
