ओखलढुंगा- जिल्लाको दुर्गम गाउँ रानीवनमा एक्स-रे सेवा सुरु गरिएको छ। चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रले एक्स-रे सेवा सुरु गरेको हो। दुर्गम क्षेत्रका नागरिकलाई सहजरूपमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्यचौकीबाट प्राथमिक स्वास्थ्य केन्द्रमा स्तरोन्नति भएको करीब २४ वर्षपछि सेवा सुरु गरिएको हो।
स्वास्थ्य केन्द्रलाई व्यवस्थित बनाएर सेवा थप गरिएको वडा नं १० का अध्यक्ष उज्जवन बुढाथोकीले जानकारी दिए। उनका अनुसार स्थानीय सरकार र स्वास्थ्य सेवा विभागको पहलमा एक्सरेसहितको सेवा सुरु गरिएको हो। दक्ष जनशक्ति, विद्युत्सहित आवश्यक पूर्वाधारको अभावका कारण मेसिन दुई वर्षदेखि थन्किएर राखिएको थियो। गाउँपालिकाको सात लाख रुपैयाँ सहयोगमा आवश्यक सामान खरीद र पूवार्धार निर्माण गरिएको छ।
वडा कार्यालय र व्यवस्थापन समितिको पहलमा १५ दिने तालीम सञ्चालन भइरहेको छ। तालिमप्राप्त रेडियोलोजिष्ट अभावका कारण सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले त्यहाँ कार्यरत कर्मचारीलाई तालिम दिइएको वडाध्यक्ष बुढाथोकीले बताए। गाउँमै ऐक्सरेसहितको स्वास्थ्य सेवा सुरु भएपछि स्थानीय खुसी भएका छन्।
ऐक्सरे सेवा सुरु गरेको पहिलो दिन शुक्रबार मात्रै २५ जनाले सेवा लिएका छन्। गाउँमै ऐक्स-रे हुन थालेपछि जाँच गराएको वडा नं १० की श्याममाया तामाङले बताइन्। यसअघि सामान्य स्वास्थ्य समस्या भए पनि रामेछापको मन्थली वा काठमाडौँ जानुपर्ने बाध्यता थियो। स्वास्थ्य केन्द्रमा एक चिकित्सकको दरबन्दी छ। अहिले दुई अन्य चिकित्सक करारमा कार्यरत छन्। रासस