काठमाडौं– बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोग्नुपरेका समस्याका बारेमा प्राय: नेपाली जानकार छन्। बंगलादेशमा अध्ययनरत छात्रा विद्यार्थीको बारेमा बोल्दा एक जना मन्त्रीले राजीनामा समेत दिनुपरेको थियो।
लामो समयदेखि बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीको बारेमा निरन्तर आवाज उठाउँदै आएका नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका अध्यक्ष नवीन यादवले समस्याका बारेमा निरन्तर आवाज उठाउँदा पनि सम्बन्धित निकायले कुनै प्रतिक्रिया नदिएको बताएका छन्। बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनको अवधि ५ वर्ष अध्ययन र १ वर्ष इन्टर्नसिप गरी जम्मा ६ वर्षको हुन्छ। तर, भिसा भने अध्ययन अवधिसम्म दिने प्रावधान छैन।
अध्ययन अवधि सकिनुअघि नै कलेज र युनिभर्सिटीको सम्पूर्ण फी बुझाउनुपर्ने हुन्छ। कानुनी प्रक्रिया पूरा गरेर अध्ययन कै निम्ति विद्यार्थी भिसामा आउने नेपाली विद्यार्थीका निम्ति पनि भिसा प्रक्रियामा सम्बन्धित निकायले चरम लापरबाही गर्ने गरेको अध्यक्ष यादवको दावी छ।
नेपाली विधार्थीहरुले बर्सेनी भिसा फी तिरेर विद्यार्थी भिसा एक्सटेन्सन गर्नुपर्ने हुन्छ। अहिले आएर एकैचोटी २ वर्षको भिसाका लागि पनि निवेदन दिन सकिने भन्ने छ। २ वर्षको लागि विद्यार्थीले भिसा शुल्क तिर्छन्। तर, भिसा लिन जाँदा १ वर्षको मात्रै भिसा पाएपछि अधिकांश विद्यार्थीहरू अन्यायमा परेका हुन्।
देशमा व्यवस्थित शिक्षा प्रणालीको विकास नगर्ने, बर्सेनी हजारौं नेपाली विद्यार्थीलाई बाहिर पढ्न बाध्य पार्ने अवस्थाको अन्त्य गर्नुपर्ने अध्यक्ष यादवको माग छ।
नेपाली विद्यार्थी बाहिर गइसकेपछि पनि उनीहरूले भोग्ने समस्याका बारेमा सरकार र विद्यार्थी नेता मौन बनेको देखिन्छ।
अध्यक्ष यादवले भने, ‘हामीले नेपाली राजदूतावासलाई पनि आग्रह गरेका छौं। नयाँ राजदूत डा बंशिधर मिश्र आउनुभएको छ। उहाँले उक्त समस्याका बारेमा पहल कदमी चाल्छु भनेर भन्नुभएको छ। आज मात्रै पनि उहाँलाई भेटेर हाम्रा मागहरू बुझाउने भनेका छौँ। यसको सामाधानका निम्ति यथाशीघ्र पहल गरियोस् र हाम्रा अधिकारको बारेमा सम्बन्धित निकाय गम्भीर हुनुपर्छ! अनावश्यक रुपमा निर्दोष विद्यार्थीहरुलाई पीडा दिने कार्यको अन्त होस् !'