काठमाडौं – नेपाल स्वास्थ्यकर्मी संघको सातौं अधिवेशन तयारी समितिका संयोजक कृष्णप्रसाद नागिलाले राजिनामा दिएका छन्।
नागिलाले अधिवेशनका लागि संघका अध्यक्ष रामजी घिमिरेले समितिलाई असहयोग गरेको र आफूखुसी अधिवेशनको काममा मनोमानी गरेको भन्दै असोज ३० गते राजिनामा बुझाएका हुन्।
संघको साउन ४ गतेको निर्णय अनुसार संघका सहअध्यक्ष नागिलाको संयोजकत्वमा समिति गठन भएको थियो। समिति गठन भएलगत्तै समितिले आवश्यक काम अगाडि बढाएको थियो।
समितिले अधिवेशन तयारीका लागि केन्द्रीय समितिमा कार्यालय सञ्चालनका लागि कम्प्युटर सहयोगी, अधिवेशन प्रतिनिधिको नामावली र अधिवेशन सम्पन्न गर्न खर्चको लागत अनुमान पेस गर्दा पनि अध्यक्षले सुनुवाइ नगरेको नागिलाको राजिनामा पत्रमा उल्लेख छ।
‘अध्यक्षबाट कुनै किसिमको सुनुवाइ, समन्वय र सहयोग यस समितिले पाउन सकेन। साथै तयारी समितिलाई उपेक्षा गरी आफूखुसी अधिवेशनको काममा मनोमालिन्य तरिकाले असहयोग गरी समितिलाई असक्षम बनाउन कुण्ठित नियत राखेको यस समितिको ठहर छ,’ राजिनामापत्रमा भनिएको छ, ‘समितिमा रही काम सम्पन्न गर्ने मनसाय हुँदाहुँदै पनि केन्द्रीय अध्यक्षबाट पूर्ण रुपमा असहयोग भएकोले समितिमा रहन कुनै औचित्य नरहेको हुँदा केन्द्रीय अध्यक्षलाई सहजता प्रदान गर्न राजिनामा पेस गरेका छौं।’
अधिवेशन संयोजक नागिलाको राजिनामापछि संघको अधिवेशन समेत प्रभावित हुने भएको छ। संघको यही कात्तिक २२ र २३ गते काठमाडौंमा अधिवेशन मिति तय भएको छ।
संघका अध्यक्ष रामजी घिमिरेले समिति संयोजक सहअध्यक्ष कृष्णप्रसाद नागिलाको राजिनामाबारे आफूलाई जानकारी नभएको बताएका छन्।
उनले भने, ‘राजिनामा दिएको कुरा प्रक्रियागत रुपमा आउनुपर्छ, सडकमा राजिनामा दिएर हुँदैन। यो सबै संघको अधिवेशन नगराउन नदिने खेल हो।’
.jpg)