काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले चिकित्सा शिक्षा नै भद्रगोल हुनेगरी निर्णय गरेको भन्दै त्यसको विरोध गरेका छन्। डा केसीले आइतबार विज्ञप्ति जारी गर्दै आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले मन्त्रीको स्वार्थमा नर्सिङ शिक्षा नै भद्रगोल हुनेगरी निर्णय गरेको भन्दै उक्त निर्णय तत्काल खारेज गर्न माग गरेका छन्।
‘आयोगले पूर्णता नै नपाउँदै हतार हतार नर्सिङ कलेजहरुको सम्बन्धन सम्बन्धी निर्णय आयोगले गर्न छाडेर सिटिइभिटीलाई सुम्पिनुले सुधार र नियमनकै मर्ममा प्रहार भएको छ,’ डा केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबैभन्दा भद्रगोल अवस्थामा रहेको नर्सिङ कार्यक्रमको सम्बन्धनमा सुधार ल्याउनुको सट्टा मन्त्रीको स्वार्थमा झन् भद्रगोल हुने गरी निर्णय गर्नुले आयोगका उपाध्यक्षको नियत र राजनीतिक वफादारी छर्लंग पार्छ।’
डा केसीले आयोगको अधिकारी पुनर्स्थापित गर्न तथा जनशक्तिको आवश्यकता र हाल चलिरहेका नर्सिङ कलेजको अवस्थाबारे बृहत अध्ययन नगरी थप कलेजलाई सम्बन्धन नदिन पनि ध्यानाकर्षण गरेका छन्।
त्यस्तै आयोगले पूर्णता नपाउँदै एमबिबिएस र बिडिएस कार्यक्रमको शुल्क बढाउने निर्णयप्रति पनि डा केसीले गम्भीर आपत्ति जनाएका छन्। ‘आयोग बनिसकेको अवस्थामा शुल्क निर्धारणका वैज्ञानिक पक्षहरुबारे अध्ययन नगरी शुल्क बढाइनु हुँदैन’ विज्ञप्तिमा भनिएको छ, ‘आयोगले निर्णय गर्दा व्यवसायीहरुको मात्रै हित नहेरी विद्यार्थी तथा अभिभावकहरुको हितलाई प्राथमिकता दिनुपर्छ। त्यसैले आगामी शैक्षिक सत्रमा पछिल्लो वर्षको भन्दा नबढाई शुल्क कायम गर्न माग गर्दर्छौं।’
विज्ञप्तिमा डा केसीले यसअघि सार्वजनिक गरेको ६ बुँदे मागको स्मरण गराउँदै कात्तिक १३ गतेदेखि आमरण अनसन बस्ने चेतावनी पुन: सम्झाएका छन्।