काठमाडौं– चितवन मेडिकल कलेजमा भएको हिंसात्मक र अप्रत्यासित घटनाप्रति नेपाल चिकित्क संघले घोर भत्र्सना गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै संघले २०७६ कात्तिक ३ गते भएको घटनाप्रति भर्त्सना गरेको हो।
‘स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा उपचारको क्रमको भएको मृत्युको घटनालाई अतिरञ्जित गर्दै हातपात गर्ने, अस्पताल तोडफोड गर्ने तथा अत्यन्तै अमानवीय र आपराधिक गतिविधि हो,’ विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण वातावरणमा उपचार गर्ने–गराउने वातावरणलाई खलल पुर्याइएकोप्रति संघ घोर भत्र्सना र निन्दा गर्दछ।’
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आपराधिक समूहहरुले लखेटीलखेटी शारीरिक हातपात गरिएको भन्दै स्वास्थ्यकर्मी तथा चिकित्सकहरुबाट स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विज्ञप्त मार्फत चितवनमा रहेका सम्पूर्ण चिकित्सकहरुलाई यस्तो आपराधिक क्रियाकलापको सशक्त विरोध गर्न र नेपाल चिकित्सक संघ चितवन शाखाले गर्ने कुनै पनि विरोधका कार्यक्रमलाई सशक्त बनाउन संघले आग्रह गरेको छ।
जघन्य अपराधिक क्रियाकलापमा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै संघले अन्यथा स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका निम्ति देशभर आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुने जनाएको छ।