काठमाडौं– संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) की कार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी उपमहासचिव डा नतालिया कनेमले नेपालको सविधानले सुरक्षित मातृत्व तथा प्रजजन् स्वास्थ्यलाई मौलिक हकको रुपमा सुनिश्चित गर्नु प्रशंसनीय भएको बताएकी छिन्।
शनिबार दुई दिने नेपाल भम्रणमा आएकी डा कनेमले नेपालले नीतिगत रुपमा स्थापित गरेको प्रजनन् अधिकारलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्।
सोमबार नेपालस्थित संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) ले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपाल अझै पनि मातृ मृत्युदर दक्षिण एसियाकै दोस्रोमा पर्ने भन्दै यसका लागि अझै काम गर्नुपर्ने बताइन्।
उनले भनिन्, ‘नेपालमा मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा २ सय ३९ जना छ। यो सार्क क्षेत्रको अफगानिस्तान पछिको दोस्रो उच्चदर हो।’
सन् १९९४मा इजिप्टको कायरोमा सम्पन्न आइसिपिडी सम्मेलनपछि नेपालमा परिवार योजना र तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति गराउने लगायत यौन र प्रजनन् स्वास्थ्य सेवाहरुको पहुँचमा उल्लेखनीय वृद्धि भएको उनको भनाइ थियो।
उपमहासचिव डा कनेमले भनिन्, ‘अझै पनि महिलाले परिवार नियोजनका साधन प्रयोग गर्न आफ्नो निर्णय लिन सक्दैनन्, बाल विवाह उच्च छ। धेरै महिलाले गर्भावस्थामा ज्यान गुमाइरहेका छन्। यी सबै कुराले आइसिपिडीको कार्यदिशा अनुसार धेरै पछि रहेको देखाउँछ।’
नेपालमा आधुनिक गर्भ निरोधक साधन प्रयोग दर ४३ प्रतिशत छ। नेपालका प्रजनन् उमेर समूह १५ देखि ४९ का एक तिहाइ महिलाले गर्भनिरोधक साधन प्रयोग गर्न आफैं निर्णय लिन सक्दैनन्।
२०७२ को नेपालको भुकम्प र त्यसले पारेको असरबारे उल्लेख गर्दै प्राकृतिक विपद्को अत्यधिक जोखिममा रहेको उनले बताइन्।
‘बारम्बार आउने बाढी, पहिरोले आर्थिक वृद्धिविकास, तथा उच्च जोखिमका क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनमा प्रतिकूल प्रभाव पारेको छ। त्यसमा सबैभन्दा बढी महिला र बालबालिका मार परेका छन्,’ उनले भनिन्।
कायरो सम्मेलनको दूरदृष्टि तथा सन् २०३० सम्म सम्मेलनको कार्ययोजनाको पूर्ण कार्यान्वयनमा नेपाल सरकारले हालसम्म हसिल गरेका महत्वपूर्ण उपलब्धिहरुसँग साक्षात्कार हुन युएनएफपिएबाट उच्चस्तरीय दुई दिने भ्रमणमा उनले आजै प्रधानमन्त्री, स्वास्थ्यमन्त्री लगायतका उच्चस्थ पदाधिकारीसँग भेटवार्ता गर्ने छिन्।
आगामी नोभेम्बर १२ देखि १४ सम्म नैरोबीमा आयोजना हुन लागेको आइसिपिडीको २५औँ शिखर सम्मेलनमा प्रजनन् अधिकार सुनिश्चिततामा नेतृत्वदायी भूमिका सहित सहभागी हुन सरकारको उच्च तहलाई आमन्त्रण गर्न उद्देश्यले रहेको उनले बताइन्।
पहिलो पटक नेपाल आउने अवसर पाएको भन्दै यहाँको सुन्दरताले प्रभावित बनाएको बताइन्।
एसिया र प्रशान्तका लागि युएनएफपिएका क्षेत्रीय निर्देशक बियोन एन्डरसन र युएनएफपिएका चिफ अफ स्टाफ पियो स्मिथ उनीसँगै नेपाल भ्रमण आएका छन्।