काठमाडौं– चितवन मेडिकल तोडफोड गरेको आरोपमा प्रहरीले १ महिलासहित ११ जनालाई पक्राउ गरेको छ। आइतबार मेडिकल कलेज तोडफोड गर्ने ११ जनालाई पक्राउ गरिएको चितवनका एसपी दानबहादुर मल्लले पुष्टि गरे।
पक्राउ परेकाहरुविरुद्ध सोमबार कलेजले जाहेरी दिएको छ। उनीहरुको जाहेरी आएपछि प्रहरीले थप अनुसन्धान गरेर कारबाही गर्ने तयारी गरेको छ। अहिले प्रहरीले पक्राउ परेका ११ जना विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरेको छ।
क्षतिको परिमाणको आधारमा उनीहरुलाई सांगठनिक अपराधमा समेत मुद्दा चलाउन सकिने प्रहरीले जनाएको छ। एसपी मल्लले नेपाल लाइभसँग भने, ‘यस किसिमको तोडफोड गर्नेविरुद्ध प्रहरीको ध्यानाकर्षण भएको छ। भोलीका दिनमा पनि यस्ता घटना हुन नदिनका लागि तोडफोडगर्नेलाई कानूनी दायरामा ल्याउँछौं।’
उपचारका क्रममा चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा नवलपरासीकी बिरामी आशा ज्ञवालीको मृत्यु भएपछि आक्रोशित आफन्त तोडफोडमा उत्रिएका थिए। मृतकका आफन्तले अस्पतालको आइसियु, सिसियु, गेट लगायतका क्षेत्रमा तोडफोड गरेका थिए।