चितवन- चितवन मेडिकल कलेज (सिएमसी)मा आइतबार भएको तोडफोडका विषयमा नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय चितवनमा पुगी ६ बुँदे मागसहित अस्पतालले ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो।
चितवन मेडिकल कलेजमा उपचाररत एक महिलाको मृत्यु भएपछि आइतबार मृतकका आफ्न्तले तोडफोड गरेका थिए। सिएमसीमा उत्पन्न परिस्थितिलाई लिएर नेपाल चिकित्सक संघले चितवनले २४ घन्टे अल्टिमेटमसमेत दिएको छ।
चिकित्सक संघले २४ घन्टाभित्र माग पूरा नभए चितवनका सम्पूर्ण अस्पताल र क्लिनिकको आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी दिएको हो। संघका अध्यक्ष डा प्रकाश खतिवडाले अशान्ति र असुरक्षाका बीचमा उपचारको काम गर्न नसक्ने भन्दै तत्काल माग पूरा गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसमक्ष माग गरे।
चिकित्सक संघले सिएमसीमा तोडफोड भएको घटनालाई लिएर स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन २०६८ तथा नियमावली २०६९ अनुसार घटनाका दोषीलाई तुरुन्त कारबाही हुनुपर्ने माग गरेका छन्। कलेजमा चिकित्सक, विद्यार्थीमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई सीसीटिभी फुटेज र भिडियो रेकर्ड समेत हेरी ‘ज्यान मार्ने उद्योग’अन्तर्गत कानुनी कारबाही अघि बढाउनुपर्ने समेत उनीहरूको माग छ।
यसैगरी, सीएमसीमा भएको क्षतिपूर्ती सम्बन्धित व्यक्ति र समूहबाट असुल गराउनुपर्ने, 'जेल विथआउट बेल' अबिलम्ब लागू गर्नुपर्ने, स्वास्थ्य संस्थामा सुरक्षाको प्रत्याभुति गराउन जिल्लाका सुरक्षा निकायहरुले सुरक्षा संयन्त्र बनाउनुपर्ने समेत संघको माग छ। सामाजिक सञ्जालमा अतिरञ्जित दुष्प्रचार गर्नेहरुलाई साईबर क्राइम अन्तरगत कारबाही गर्न माग गरिएको छ।
कार्यक्रममा बोल्दै चिकित्सक संघका केन्द्रीय सदस्य अनिल विक्रम कार्कीले आफुहरुको माग छिटो सम्बोधन नगरे कडा आन्दोलनमा जाने चेतावनी दिए।
संघका पूर्व अधयक्ष डा.कृष्ण पौडेलले अस्पतालहरुमा हुने यस्ता घटना दुखद भएको भन्दै निष्पक्ष छानविन गर्ने प्रक्रिया राज्य निकायबाट हुनुपर्ने बताए। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले अस्पतालमा घटना दुःखद भएको भन्दै सुरुमा नै घटनाका विषयमा अस्पतालले जानकारी नगराउँदा समस्या निम्तिएको बताए।
मेडिकल सिटीका रुपमा चितवन विकसीत भएको भन्दै प्रजिअले चितवनमा यतिबेला अस्पतालको सुरक्षा मूख्य चुनौती बनेको उल्लेख गरे।
‘ जब घटना हुन्छ सरुमै अस्पतालभित्रै गुपचुप मिलाउन खोजिन्छ, अन्तिममा मात्र हामीलाई जानकारी हुन्छ,' उनले भने, 'यसले समस्यामाथि समस्या निम्त्याएको छ।'
अस्पतालमा हुने यस्ता घटनाका विषयमा प्रशासन गभ्भीर बनेको भन्दै पीडकलाई कारबाही गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे।