अस्पतालहरु बिरामीको उपचारका लागि भरोसाका केन्द्र हुन् । मृत्युको मुखमा पुगेका धेरै बिरामी अस्पतालमा उपचारपछि नयाँ जीवन लिएर घर फर्कन्छन् । तर, पछिल्लो समय तिनै भरोसाका केन्द्रमाथि आक्रमणका घटना बढ्दै गएका छन्।
कुनै समय डाक्टरलाई भगवान मान्ने हाम्रो समुदायमा पछिल्लो समय तिनै डाक्टरमाथि हातपात र दुर्व्यवहार हुने क्रम बढ्दै गइरहेको छ।
अस्पताल पुगेका सबै बिरामी शतप्रतिशत निको भएर घर फर्कन्छन् भन्ने ग्यारेन्टी हुँदैन। चिकित्सा विज्ञानले आजसम्म शतप्रतिशत बिरामीलाई निको बनाएर घर फर्काउने प्रविधि र उपचार विधिको आवष्कार गर्न सकेको छैन। त्यसकारण अस्पताल पुगेका सबै बिरामी निको हुन्छन् र बाँच्छन् भन्ने ग्यारेन्टी हुँदैन।
तर, केही वर्षयता अस्पतालमा बिरामीको मृत्युका विषयलाई लिएर अस्पतालहरु फोडिने र स्वास्थ्यकर्मी पिटिने घटना बढिरहेका छन्। नेपाल चिकित्सक संघले संकलन गरेको तथ्यांकले पनि अस्पताल र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको घटना बढ्दै गइरहेको देखाएको छ। संघको तथ्यांक अनुसार उपचारका क्रममा चित्त नबुझेपछि कानुनी उपचार नखोजी सिधै डाक्टर र स्वास्थ्य संस्थामाथि आक्रमण हुने घटना वर्षमा १० वटाभन्दा बढी हुने गरेका छन्।
चितवन मेडिकल कलेजसहित यो वर्षमात्र वैशाखयता हालसम्म ७ वटा यस्ता घटना भइसकेको छ।
उपचारमा डाक्टर, स्वास्थ्यकर्मी र अस्पतालको लापरबाही बढेको आरोप बिरामी पक्षले लगाउँदै आइरहेका छन् भने स्वास्थ्यकर्मी र अस्पतालले त्यसको खण्डन गर्दै आइरहेका छन्।
उपचारमा चित्त नबुझेपछि डाक्टरमाथि हातपात हुने घटना ०६२/६३ को जनआन्दोलनपछि बढेको बताउँछन् नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्की।
चिकित्सक संघले संकलन गरेको विवरण अनुसार सबैभन्दा पहिले २०६३ जेठ ९ गते अस्पतालका चिकित्सकमाथि आक्रमण भएको थियो । लुम्बिनी अञ्चल अस्पतालको आकस्मिक कक्षमा बिरामीको उपचारमा संलग्न डा श्रीकृष्ण गिरीमाथि हातपात र अस्पताल तोडफोड भएको थियो।
त्यसको भोलिपल्ट नै अर्थात जेठ १० गते काठमाडौंको एभरेष्ट नर्सिङ होममा सांघातिक हमला र तोडफोड भएको थियो । त्यसयता हालसम्म यो १३ वर्षको अवधिमा ७० वटाभन्दा बढी घटना भइसकेका छन् ।
उपचारमा चित्त नबुझे कानुनी उपचार खोज्नु पर्ने बताउँछन् निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट अस्पतालका अध्यक्ष बसन्त चौधरी।
विश्वासका आधारमा बिरामीले ज्यान सुम्पिने र बिरामीको ज्यानमाथि छुरी चलाउनुपर्ने चिकित्सकिय सेवामा विश्वासको संकट गहिरिँदै जानुको बेफाइदा अस्पताल र बिरामी दुवै पक्षले उत्तिकै भोग्नु परिरहेको छ। त्यसकारण यो विश्वासको संकटलाई पुर्दै बिरामीलाई गुणस्तरीय सेवाको विश्वास दिलाउँदै ढुक्कसँग उपचार गर्नसक्ने वातावरण बनाउन स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल लगायतका नियकाले बेलैमा कदम चाल्नुपर्ने अवस्था आइसकेको छ।