डडेल्धुरा– डडेल्धुरा अस्पतालका लागि डाक्टर माग्दै सर्वपक्षीय टोली सिंहदरबारमा पुगेको छ। वर्षौंदेखि चिकित्सकको अभाव रहेको डडेल्धुरा अस्पतालका लागि दरबन्दी अनुसारका चिकित्सक पठाइदिन जनप्रतिनिधि सहितको सर्वपक्षीय टोलीले मन्त्रीसँग हारगुहार गरेका छन्।
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई भेट्न सिंहदबार पुगेको टोलीले अस्पतालमा चिकित्सक नहुँदा नागरिकहरु स्वास्थ्य सेवाबाट वञ्चित रहेको गुनासो गरे।
सोमबार प्रतिनिधिसभा सदस्य निरादेवी जैरुको नेतृत्वमा गठित समितिले मन्त्री यादवलाई मन्त्रालयमै पुगेर ज्ञापनपत्र समेत बुझाएको छ। ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले डडेल्धुरा अस्पतालका लागि अहिले १२ जना चिकित्सक पठाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्ला सदरमुकाममा रहेको ‘डडेल्धुरा अस्पताल’ हाल एक जना चिकित्सकको भरमा सञ्चालन भइरहेको छ। दरबन्दी अनुसारका चिकित्सक नपाइकनै नाम परिवर्तन गरी संघीय सरकारको मातहतमा रहेकोे अस्पताल कर्मचारी समायोजनको चपेटामा परेको हो।
ज्ञापनपत्र बुझाउन सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ल, आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ, उपाध्यक्ष जलादेवी बोगटी, नवदुर्गा गाउँपालिकाका उपाध्यक्ष डम्मरी ओली, भागेश्वर गाउँपालिकाका उपाध्यक्ष पदमबहादुर बोहरा, जिल्ला समन्वय समिति सदस्य रामचन्द्र अवस्थी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उत्तर विष्ट, महासंघका पूर्व केन्द्रीय सदस्य छत्र साउद, अमरगढी नगरपालिका–३ का अध्यक्ष गोविन्द बोहरालगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेका थिए।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, राजनीतिक दल, बार एसोसिएसन, नागरिक समाज, पत्रकारलगायत सम्मिलित समिति बनाई अस्पतालमा रिक्त दरबन्दी पूर्ति र व्यवस्थापनका लागि सम्बन्धित निकायलाई घच्घच्याउने प्रतिबद्धता जनाइएको थियो। सोही अनुसार जनप्रतिनिधिसहितको सर्वपक्षीय टोली काठमाडौं पुगेको हो।