काठमाडौं— नियमअनुसार एउटा नाममा एउटा मात्र संस्था हुनुपर्ने हो। तर, नेपाल स्वास्थ्यकर्मी संघ नाम गरेका भने दुईवटा संस्था रहेको फेला परेको छ।
एउटै नाममा ती दुईवटा संस्था श्रम विभागमा दर्ता छन्। र विभागले पनि दुईवटा छुट्टाछुट्टै दर्ता नम्बर पनि उपलब्ध गराएको छ। एउटै नामका दुई वटा संस्था भेटिएपछि कुन चाँही आधिकारीक हो भन्नेमा स्वास्थ्यकर्मी नै अन्यौलमा परेका छन्।
दुईवटै संस्थाका अध्यक्ष भने एकै व्यक्ति रहेको पाइएको छ। स्वास्थ्यकर्मी रामजी घिमिरे ती दुबै संस्थाका अध्यक्ष हुन्।
श्रम विभागले स्वास्थ्यखबरलाई उपलब्ध गराएको प्रमाणपत्र अनुसार २०६३ माघ ३१ गते १४३ दर्ता नम्बरमा एउटा र २०६७ असार २९ गते २७३ दर्ता नम्बरमा पनि एउटै नामको अर्को संस्था दर्ता भएको उल्लेख छ।
स्वास्थ्यकर्मीहरु अध्यक्ष घिमिरेले संस्थाको अध्यक्षका रुपमा जथाभावी रुपमा फाइदा लिनका लागि मनपरी गरेको आरोप लगाएका छन्।
तर अध्यक्ष घिमिरे भने आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताउँछन्।
‘तपाईंलाई यस विषयमा जसले जानकारी दियो। उसैसँग सोध्नुहोस्। म जुन आधारिक हो त्यसकै अध्यक्ष हुँ,’ उनले भने। उनले आफू आधिकारीक संस्थाको अध्यक्ष भएको बताए पनि दुईमध्ये कुन चाँही आधिकारीक हो भन्ने कुरा भने खुलाउन चाहेनन्।
अध्यक्ष घिमिरेकै कारण हरेक ४ वर्षमा हुनुपर्ने संघको अधिवेशन समेत ६ वर्षवितिसक्दा समेत हुन सकेको छैन। अध्यक्ष घिमिरे भने आफुले अधिवेशन गराउन खोजेपनि अरुले नदिएको स्पष्टिकरण दिए।
उनले भने, ‘साथीको निर्वाचन गराउने चाहना छैन। आफुले पनि नगर्ने अरुलाई पनि गर्न नदिने खेल खेल्नुभएको छ। तर निर्वाचन तोकिएको मिति कात्तिक २२ मै हुन्छ।’
उनले अधिवेशन तयारी समिति गठन गरेर तयारी सुरु भइसकेको बताए। यद्यपी उनले समितिले कति तयारी गरेको छ भन्नेबारे आफुलाई अपडेट नभएको बताए।
तर, अधिवेशन तयारी समितिका संयोजकले भने अध्यक्षले असहयोग गरेको र एक्लौटी ढंगले चलेको भन्दै राजिनामा दिइसकेका छन्।
समितिका संयोजक कृष्णप्रसाद नागिलाले अधिवेशनका लागि अध्यक्ष घिमिरेले समितिलाई असहयोग गरेको र आफूखुसी अधिवेशनको काममा मनोमानी गरेको भन्दै असोज ३० गते राजिनामा बुझाएका हुन्।


यो पनि