पोर्चुगल- ‘अटिजम स्पेक्ट्रम डिसअर्डर’ भएका एक नेपाली बालकले राष्ट्रिय झण्डा बोकेर लिस्बन म्याराथन पूरा गरेका छन्।
पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षीय युरेश पाण्डेयले आफ्ना भाइ युरेकको साथमा दौड पूरा गरेका हुन्।
युरेश र युरेक नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए। ४ देखि ७ वर्षसम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो।
लिस्बन मिनी म्याराथनमा नेपालबाट युरेश र युरेक मात्रै रहेको आयोजक म्याराथन क्लब पोर्चुगलले जनाएको छ।
म्याराथन क्लब पोर्चुगलको आयोजनामा शनिबार राजधानी लिस्बनमा भएको ‘ईडीपी मिनी च्याम्पियन्स म्याराथन’ मा ७ वर्षीय युरेश पाण्डेयले आफ्ना ५ वर्षीय भाइ युरेकको साथमा २ किमी दौड पूरा गर्न सफल भएका हुन्।
युरेशमा अटिजमको पहिलो लक्षण तीन वर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेयले जानकारी दिए। बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको पाण्डेयले बताए।
बालबालिकाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि क्लबले हरेक वर्ष बालबालिकाहरुबीच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ। युरेश र युरेक दुवै दाजुभाइ आगामी मार्चमा अर्को म्याराथनमा सहभागी हुने तयारीमा छन्।
केहो अटिजम?
अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो। यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन्। यसमा बच्चाको उमेरअनुसार हुनुपर्ने व्यावहारिक विकास, सामाजिक विकास अनि एकअर्कामा सञ्चार गर्ने क्षमताको विकास भएको पाइँदैन।
छरछिमेकीले सल्लाह दिँदासमेत त्यस्तै हो मेरो पनि ढिलो बोलेको, ढिलो हिंडेको, अलिक पछाडि मात्र पढ्न थालेको जस्ता जवाफ दिने गर्छन्, जसले अटिजम भएको ढिलो पत्ता लाग्ने र समाधानमा कठिनाइ आउने गर्छ।
बालबालिकाको शारीरिक गतिविधिको प्रारम्भिक चरण भनेको दुई वर्षदेखि तीन वर्षलाई मानिन्छ। यसै उमेरमा उसले हातखुट्टाको प्रयोग गर्ने, साथिभाइहसँग इसाराले बोल्ने, शब्द र वाक्य प्रयोग गरेर बोल्ने अथवा सञ्चार गर्ने, साथीभाइ बनाउने मिलेर खेल्ने ईर्ष्या गर्ने गर्छन्। तर यदि नानीहरुमा सो प्रकृतिका क्रियाकलापहरु हामीले पाउन सकेनौं भने अन्य शारीरिक दुर्बलता हो या अटिजमको सिकार बनिरहेछ भनेर गहिरो चासो दिनु पर्छ।