काठमाडौं– पोषणसम्बन्धी सेवाको विस्तारका लागि विश्व सम्मेलनले फरक देशबीच असल पोषण अभ्यास तथा सिकाइ अनुभव आदानप्रदान गर्ने बताइएको छ।
राष्ट्रिय योजना आयोगले कात्तिक १८ देखि २१ गतेसम्म काठमाडौंमा विश्व सम्मेलनबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा पोषण सुधारका लागि बहुपक्षीय, द्विपक्षीय छलफल र सहकार्य हुने बताइएको थियो।
राष्ट्रिय योजना आयोगका आयुक्त डा उषा झाले पोषणको अवस्थाले देशको विकास मापन गर्ने बताइन्।
उनले भनिन्, ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराको गहिरो अर्थ छ। मानिस र बातावरणलाई सँगै अगाडि नबढाउने हो भने समस्या हुन्छ। पोषणले खाना मात्र जनाउँदैन। यो बहुपक्षीय विषय हो।’
नेपालमा पोषणको लागि बहुक्षेत्रीय पोषण योजना अन्र्तगत पोषण विशेष, पोषण संवेदनशील र समर्थ बनाउने कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिरहेको उनले बताइन्।
कुपोषणको अवस्थालाई सुधार गर्न पोषण विस्तार अभियान (स्केलिङ अप न्युट्रिसन– सन मुभमेन्ट) ६१ देशमा चलिरहेको छ।
स्केलिङ अप न्युट्रिसन सन मुभमेन्टका निर्देशक ब्रिन्डा किलेनले पोषणसम्बन्धी कार्यक्रमलाई विश्वव्यापी रुपमा विस्तार गरी किशोरकिशोर, महिला तथा बालबालिकामा हुने सबै प्रकार कुपोषणको अन्त्य गर्न राष्ट्रसंघको पहलमा २०१० बाट अभियान सुरु भएको बताइन्।
उनले यो अभियानमा संयुक्त राष्ट्रसंघीय निका, राष्ट्रिय, अन्तर्राष्ट्रिय निकाय, प्राज्ञिक क्षेत्र, नागरिक समाज, निजी क्षेत्र, सामाजिक अभियन्ता र सञ्चार जगत लगायतका सरोकारवाला निकायले भूमिका निभाइरहेको बताइन्।
उनले भनिन्, ‘महिला गर्भवती भएदेखि उसको खानपान, हेरचाह, नियमित स्वास्थ्य जाँचले कुपोषणबाट बच्न मद्दत गर्छ। यसले भविष्यको लागि स्वस्थ नागरिक तयार हुन्छ।’
उनले मानव र पृथ्वीलाई नै सुपोषित गर्ने रुपान्तरणकारी सरकारी प्रतिवद्धताहरुलाई सन् २०२० डिसेम्बरमा हुने ‘वृद्धिका लागि पोषण टोकियो शिखर सम्मेलन’ लाई समेत दृष्टिगत गरी छलफल हुने बताइन्।
राष्ट्रिय योजना आयोगका प्रवक्ता सुजन रुपाखेतीले सन् मुभमेन्टको सुरुवाती चरणको सदस्यकै रुपमा सन् २०११ मा सहभागी भएपछि नेपालले कुपोषण घटाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको बताए।
सम्मेलन नेपाल सरकारको नेतृत्वमा हुन लागेको हो। सम्मेलनमा सहभागीहरुले न्युन पोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि प्रभावकारी भइरहेका प्रयासहरुबारे छलफल गर्ने छन्।
राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपना, २७ प्रतिशतमा कम तौल, र १० प्रतिशतमा ख्याउटेपन रहेको देखाएको छ।
पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल र मोटोपन १ दशमलव २ प्रतिशत, प्रजनन् उमेरका महिलामा अधिक तौल र मोटोपन २२ प्रतिशत र प्रजनन् उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
नेपाल राष्ट्रिय सूक्ष्म पोषकतत्व सर्वेक्षण २०१६ अनुसार ३२ प्रतिशत किशोरकिशोरीमा भोकमरीको जोखिमको कारण पुड्कोपन देखिएको छ। २३ प्रतिशत किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको छ।
आर्थिक र सामाजिक विकासको मुटु नै पोषण मानिन्छ। असमानता घटाउने र सबैको लागि गरिबी उन्मुलन गर्ने प्रमुख उपाय पनि पोषण नै भएकोले विश्वमा पोषणको सुधारका लागि अभियान चलाइएको छ।
यी तथ्यका बाबजुद संसारभर मर्ने बालबालिकामध्ये आधा जति कुपोषणका कारण आफ्नो जीवन गुमाउने गरेको तथ्यांक छ।
नेपालको नेतृत्वमा हुने पोषण विस्तार अभियानको यो अन्तर्राष्ट्रिय सम्मेलनले पोषण क्षेत्रमा काम गर्ने प्रमुख सरोकारवालाहरुलाई एक ठाउँमा ल्याई सबै प्रकारका कुपोषणलाई इतिहासमा सीमित गर्दै दिगो विकास लक्ष्य प्राप्तितर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।
नेपाल सरकारले र सन मुभमेन्टको संयुक्त आयोजनमा हुने उक्त सम्मेलनमा विभिन्न राष्ट्रका राष्ट्र प्रमुखसहित एक हजार २ सय प्रतिनिधिहरु सहभागी हुने बताइएको छ। नेपालबाट करिब २ सयले सहभागिता जनाउने छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा राजनीतिक प्रतिवद्धताले कुपोषणको अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
युनिसेफकी कार्यकारी निर्देशक तथा सन् लिड ग्रुपकी अध्यक्ष हेनरिता एच फोर, संयुक्त राष्ट्रसंघकी सहायक महासचिव तथा सन मुभमेन्टकी संयोजक गेर्डा भर्बर्ग लगायत उपस्थित हुने छन्।
सन् २०१३ मा न्युयोर्कमा अभियानको पहिलो विश्व सम्मेलन भएको थियो। सन् २०१४ र २०१५ मा इटालीमा भएको सम्मेलन २०१७ मा अविदजान, कोट डी आइभोरीमा भएको थियो।
यो पाँचौ विश्व सम्मेलन हो। एसियाली राष्ट्रमध्य नेपालले पहिलो पटक आयोजना गर्न लागेको हो।