भैरहवा- रुपन्देही सदरमुकाम भैरहवास्थित भीम अस्पतालको फार्मेसीले चौबिसै घन्टा सेवा सुरु गरेको छ। यसअघि अस्पतालको ओपिडी सेवा संचालन हुने समयमा मात्र संचालन हुने फार्मेसी शुक्रबारबाट चौबिसै घन्टा संचालन हुन थालेको हो। सरकारी अस्पतालमा आउने बिरामी तथा सेवाग्राहीले अस्पतालका पसलहरुमा गएर महङगोमा औषधी किन्न नपरोस् भन्ने उद्देश्यले सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।
अस्पताल सुधार गर्ने अठोटका साथ अगाडि बढेका अस्पतालका मेडिकल सुपरेटेन्डेन्ट डा. नवीन दर्नालले २४ घण्टे फार्मेसी सेवाको शुभारम्भ गरेका हुन्। फार्मेसी सेवा सुरु भएसँगै सेवाग्राहीलाई आवश्यक परेको जुनसुकै बेला औषधी पाउने सक्नेछन्।
यसअघि अस्पताल भित्रका फार्मेसीहरु ओपिडी अवधिसम्म मात्र सञ्चालन हुँदा इमर्जेन्सीमा भर्ना हुने बिरामी अस्पतालको फार्मेसी सेवाबाट वञ्चित भएका थिए।
'ओपिडी आवरमा मात्रै फार्मेसी सञ्चालन हुने तर ओपडीपछि फार्मेसी सञ्चालन नहुँदा अस्पतालमा आउने सेवाग्राहीहरु भौतारिनुपर्ने, बढी पैसा तिरेर बाहिर औषधि किन्नुपर्ने अवस्थालाई निर्मूल पार्न सेवा सञ्चालनमा ल्याएका छौं,' मेसु दर्नालले भने।
अस्पतालले सञ्चालन गरेको फार्मेसीबाट सेवाग्राहीले ५ प्रतिशत छुटमा औषधी खरीद गर्न सक्ने उनले बताए। आगामी दिनमा २४ घण्टे एक्स–रे सेवा तथा ल्याब सेवा सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए।
'अस्पतालमा नयाँ मेडिकल सुपरीटेन्डेन्ट डा. नवीन दर्नाल आएपछि उहाँको टिम सेवाग्राहीलाई कसरी हुन्छ बढी सेवा उपलब्ध गराउन लागेको छ,' उपाध्यायले भने।
बाहिरका औषधि पसलभन्दा अस्पतालको फार्मेसीमा सर्वसुलभ दरमा नै औषधी खरिद गर्न सकिने उपाध्यायले बताए। 'अस्पतालको आकस्मिक कक्षकै छेउमा फार्मेसी सञ्चालनमा आएको छ, आकस्मिक कक्ष (इमरजेन्सी)मा आउने विरामीहरुलाई तत्काल औषधीको आवश्यकता पर्ने भएकोले इमरजेन्सी नजिकै फार्मेसीसञ्चालनमा आएको हो,' उपाध्यायले भने।
अस्पतालको यो सेवाबाट सेवाग्राही पनि खुशी व्यक्त गर्छन्। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-१० का वृजमोहन गिरीले विगतका दिनमा अस्पताल बाहिर औषधि किन्नुपर्ने बाध्यता भए पनि अब सेवाग्राहीलाई सहज हुने अपेक्षा गरेको बताए।
अस्पतालले दिएको जानकारी अनुसार दैनिक २ सयभन्दा बढी बिरामीहरुले ओपिडी सेवा लिदै आएका छन्। त्यसै गरी दैनिक ८०–८५ जनाले अस्पतालको इमर्जेन्सी सेवा लिँदै आएको अस्पतालले जनाएको छ।
जिल्ला सदरमुकाम भैरहवामा १९९० सालमा स्थापित यो अस्पतालमा २०३५ सालसम्म १५ शय्या सञ्चालन थियो। त्यसपछि २०४१ सालमा १० शय्या थपेर २५ शय्या बनाइएको हो। त्यसपछि यो अस्पताल विस्तार हुन सकेको छैन।