काठमाडाैँ- नेसनल मेडिकल कलेजका करिब ८० विद्यार्थीलाई कलेज प्रशासनले आइतबार दिनभर थुनेकाे खुलासा भएको छ।
कलेजका प्रबन्धक बसुरुद्दीन अन्सारीकाे निर्देशनमा विद्यार्थीलाई हाेस्टलमै थुनिएको हो।
र्याली र प्रदर्शनको आयोजना गर्ने तयारीमा रहेका विद्यार्थीहरुलाई प्रदर्शन गर्नबाट राेक्न बिहान ११ बजेदेखि ५ बजसम्म थुनेर राखिएकाे थियाे।
कलेजको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले विद्यार्थीहरुकाे माेबाइल पनि नियन्त्रणमा लिएकाे बताए। 'एक जना भाइले मात्र माेबाइल राखेका रहेछन्। उनले नै हामीलाई घटनाकाे बारेमा जानकारी गराए,' प्रवक्ता भट्टले भने।
विद्यार्थीहरु त्रसित भएर बाँच्नु परे पनि आन्दाेनल भने जारी रहने उनले बताए। 'गुन्डा लगाए पनि हामी आफ्नाे अधिकारका लागि लड्छाैँ, उनीहरु गुण्डा लगाउन् तर हामी शान्तिपूर्वक आन्दाेलन गर्छाैँ,' स्वास्थ्यखबरसँग उनले भने।
बन्धक बनाएर विद्यार्थीहरु थुनिँदा पनि प्रहरी प्रशासनबाट सहयाेग नपाएकाे विद्यार्थीहरुकाे गुनासाे छ। 'हामीले प्रहरीबाट पनि सहयाेग पाएनाैँ,आएर पनि फर्किएर गए,' उनको भनाइ छ।
उता पर्सा जिल्ला प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौर भने नेसनल मेडिकल कलेजमा केही पनि आपत्तिजनक अवस्था प्रहरीले नदेखेकाे बताउँछन्। मेडिकल कलेजमा शुल्क विवादमा विद्यार्थीहरुले आन्दोलन गरे पनि प्रशासनले विद्यार्थीलाई बन्धक नबनाएको स्वास्थ्यखबरलाई बताए।
शुक्रबारबाट सुरु भएको विद्यार्थीको आन्दोलनका क्रममा पनि विद्यार्थीमाथि नेसनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गराएको आरोप लागेको छ।
यसपछि संयुक्त विज्ञप्ति जारी गर्दै विभिन्न दलसँग आबद्ध ९ विद्यार्थी संगठनहरूले नेसनल मेडिकल कलेज वीरगञ्जमा भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीहरुमाथि यथाशीघ्र कडा कारबाहीको माग गरेका छन्।
नेपाल सरकारले तोकेको शुल्क कायम गर्न माग राखेर नेसनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।