काठमाडाैँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको उनी उपचाररत अस्पताल ग्रान्डीले जानकारी गराएको छ।
बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै अस्पतालले नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार भर्ना भएका प्रधानमन्त्रीलाई भोलिसम्ममा डिस्चार्ज गरिने जानकारी गराएको हो।
'वहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। आवश्यक परीक्षणहरू पूरा भएपछि आज राती वा भोलिसम्ममा डिस्चार्ज गरिनेछ,' अस्पताल र प्रधानमन्त्रीका निजी चिकित्सकसमेत रहेकी डा दिव्यासिंह शाहद्वारा संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

बुधबार बिहान पौने १० बजेको समयमा उनलाई अस्पताल पुर्याइएको थियो।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रमलाई नियमित फलोअपका लागि लगिएको बताएका थिए।
यसअघि पनि उनलाई ग्रान्डीमै मुटु जाँचका लागि उनलाई लगिएकाे थियाे।
१३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँच गरिँदै आएकाे छ।
दुई महिनाअघि मात्रै ओलीको सिंगापुरमा प्लाज्माफेरेसिसबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।