काठमाडौं- नियमित स्वास्थ्य परीक्षणको लागि भन्दै ग्राण्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार दोस्रोपटक डायलाइसिस गरिँदैछ।
बुधबार प्रधानमन्त्री ओलीको पहिलो डायलाइसिस करिब दुई बजेतिर सकिएको थियो। डायलाइसिस सकेर प्रधानमन्त्रीलाई केहीबेर आइसियुमा राखिएको थियो। साँझ भने उनलाई क्याबिनमा सारिएको थियो।
प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र उनले सोफामै बसेर कुरा गरेको अस्पतालका एक चिकित्सकले बताएका छन्।
उनका अनुसार प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो। पिसाब राम्ररी नभएर शरीरमा पानीको मात्रा धेरै भएको पनि ती चिकित्सकले बताए।
शरीरमा पानीको मात्रा धेरै भएपछि श्वासप्रश्वासमा कठिनाइ हुन्छ भने रगतमा पोटासियमको मात्रा धेरै बढ्यो भने मुटु ‘ब्लक’ हुने सम्भावना हुन्छ। दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउनेछ। त्यसपछि भने प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने सम्भावना रहेको अस्पताल स्रोतले जनाएको छ।
स्वस्थ मिर्गौलाले रगतमा रहेका हानिकारक तत्व छान्ने काम गर्छ। बिरामी मिर्गौलाले छान्ने काम गर्न सक्दैन। त्यसैले पानी वा रगत हालेर डायलासिस मार्फत् रगतको विकार सफा गरिन्छ।
प्रधानमन्त्री ओलीलाइ अस्पतालको १४औं तलामा रहेको आसियुमा राखिएको छ।