काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो चरणको मिर्गौला डायलाइसिस प्रक्रियामा छन्। अस्पताल स्रोतका अनुसार उनको दोस्रो पटकको डायलाइसिस प्रक्रिया केही समयअघि सुरु भएको हो।
दोस्रो पटकको डायलाइसिसमा दुईदेखि तीन घन्टा समय लाग्नसक्ने अनुमान उपचारमा संलग्न चिकित्सकहरुको छ। दोस्रो पटकको डायलाइसिस प्रक्रिया पूरा भएपछि उनलाई आइसियुबाट क्याबिनमा सारिने जानकारी चिकित्सकहरुले भेट्न पुगेका नेताहरुलाई दिएका छन्।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलका अनुसार मिर्गौला प्रत्यारोपण प्रक्रिया आधा पुगेकाले भेटघाट बन्द गरिएको छ। उनले भने, ‘मिर्गौला डायलाइसिस प्रक्रिया आधा पुगेको चिकित्सकले जानकारी दिए। यो प्रक्रिया पूरा भएपछि क्याबिनमा सारिने छ।’
प्रधानमन्त्री ओली उपचाररत ग्रान्डी इन्टरनेसनल अस्पतालमा भेट्न पुगेका रावलले चिकित्सकले आफूलाई डायलाइसिस चलिरहेको जानकारी दिएको बताएका छन्। तर, प्रधानमन्त्रीको निजी सचिवालय, उपचारमा संलग्न चिकित्सक र अस्पतालले डायलाइसिस भइरहेको विषयलाई गोप्य राखेको छ।
उपचारमा संलग्न चिकित्सकसँग परामर्श गरेका रावलले ‘डायलाइसिस प्रक्रिया’ नै चलिरहेको जानकारी गराएका हुन्।
प्रधानमन्त्रीलाई डायलाइसिस सकेर क्याबिनमा ल्याइएपछि थप उपचार प्रक्रियाका बारेमा जानकारी दिइने बताइएको छ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अस्पताल पुगेका छन्। उनीबाहेक थुप्रै नेता कार्यकर्ता अस्पतालमा पुगेका छन्।
नेकपा सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ केही बेरअघि अस्पताल पुगेका थिए। तर, डायलाइसिस चलिरहेकाले उनी भेट्न नपाई फर्केका छन्।
प्रधानमन्त्री ओलीको रगतमा क्रिटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस थालिएको हो। प्रारम्भिक डायलाइसिस बुधबार नै गरिएको थियो।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा समेत समस्या आउन थालेको छ। उनले गत भदौमा सिंगापुर गएर प्लाज्माफेरेसिस गरेका थिए। रगतमा 'एन्टिबडी' बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत उपचार गरिएको थियो।