काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलाइसिस साताको २ पटक गर्नुपर्ने भएको छ।
ग्रान्डी अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलाको अवस्थालाई मध्येनजर गर्दै साताको २ पटक मिर्गौलाको डायलाइसिस गर्नुपर्ने भएको हो।
प्रधानमन्त्रीको मिर्गौलाको बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस भइसकेको छ।
तेस्रोपटक गर्नेबारेमा निर्णय लिन भने उपचारमा संलग्न चिकित्सकहरु अहिले परामर्शमा जुटेको बताइएको छ।
प्रधानमन्त्रीलाई बिहीबार नै डिस्चार्ज गर्ने/नगर्ने बारेमा पनि चिकित्सकहरुले निर्णय लिन बाँकी रहेको स्रोत बताउँछ।
यसअघि दोस्रोपटकको डायलाइसिस प्रक्रिया सकिएलगत्तै प्रधानमन्त्रीलाई भेटेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भने प्रधानमन्त्रीको बिहीबार नै डिस्चार्ज हुने जानकारी दिएका थिए।
प्रधानमन्त्री ओलीको रगतमा क्रियटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलाइसिस थालिएको हो। प्रारम्भिक डायलाइसिस बुधबार नै गरिएको थियो।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो।
उक्त मिर्गौलामा समेत समस्या आउन थालेको छ।
उनले गत भदौमा सिंगापुर गएर 'प्लाज्माफेरेसिस' गरेका थिए। रगतमा 'एन्टिबडी' बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत् उपचार गरिएको थियो।