काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्चार्ज आजै बेलुका ८–९ बजेभित्र गरिने ग्रान्डी अस्पतालले जनाएको छ। पत्रकार सम्मेलन गर्दै ग्रान्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भएकोले आजै डिस्चार्ज गरिने बताए।
प्रधानमन्त्री ओलीलाई दुई पटक हेमोडायलाइसिस गरिएको जानकारी दिँदै डा पाण्डेले उनको रगतमा क्रियटिनको मात्रा कति पुगेको छ भन्ने विषयमा भने केही खुलाउन चाहेनन्।
अस्पतालले प्रधानमन्त्रीको अवस्था सामान्य भने पनि उनलाई साताको २ पटक मिर्गौलाको डायलाइसिस गर्नुपर्ने स्रोतले बताएको छ। उनको मिर्गौलाको बुधबार र बिहीबार डायलाइसिस भइसकेको छ।
प्रधानमन्त्री ओलीको रगतमा क्रियटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलाइसिस थालिएको हो।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा समेत समस्या आउन थालेको छ।
उनले गत भदौमा सिंगापुर गएर 'प्लाज्माफेरेसिस' गरेका थिए। रगतमा 'एन्टिबडी' बढेपछि प्लाज्माफेरेसिस प्रक्रियामार्फत् उपचार गरिएको थियो।