चितवन – चितवन मेडिकल कलेजले गत शैक्षिकसत्रका एमबीबीएस र बिडीएस अध्ययनरत विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन गर्ने भएको छ। कलेजले पत्रकार सम्मेलन गरी बढी लिएको शुल्कको हिसाब गरी समायोजन गर्ने जनाएको हो।
कलेजले शुल्क फिर्ता गर्ने विषयमा गत महिना आन्दोलनरत विद्यार्थीसँग सहमति गरेको थियो। जिल्ला प्रशासन कार्यालय चितवनको रोहवरमा भएको सहमति अनुसार नै कलेजले बढी लिएको अतिरिक्त शुल्क फिर्ता गर्न तयार भएको जानकारी दिएको हो।
कलेजले गत महिना भएको सहमति अनुसार शुल्क फिता वा समायोजन समितिको प्रतिवेदन अनुसार विद्यार्थीलाई शुल्क समायोजन गर्ने जनाएको छ। तर, सहमति अनुसार समितिले अहिलेसम्म पनि प्रतिवेदन बुझाएको छैन।
कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले सो समितिले प्रतिवेदन दिएलगत्तै बढी लिइएको शुल्क सम्बन्धित विद्यार्थीको आगामी शुल्कमा समायोजन गरिने बताए।
गत वर्ष एमबिबिएसमा एक जना विद्यार्थीसँग छ लाख रूपैयाँ र बिडीएसमा एक लाख २५ हजार रूपैयाँ बढी लिइएको छ। त्यसमध्येबाट त्रिवि रजिष्ट्रेशन शुल्क, चिकित्सा शिक्षा अध्ययन संस्थानलाई बुझाउनुपर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, संस्थागत शुल्क, कम्युनिटी शुल्कलगायतका शुल्कहरु कट्टा गरी समायोजन गरिने बताइएको छ।
सरकारले गत वर्षका लागि एमबिबिएसमा ४२ लाख ४५ हजार रुपैयाँ र बिडिएसका लागि १९ लाख ३२ हजार रूपैयाँ तोकेको शुल्क तोकेको थियो।
गत महिनाको सहमति अनुसार कलेजले पैसा समायोजना गर्न राजी भए पनि विद्यार्थीहरुले भने सहमति पालना नगरेको कलेजको भनाई छ। ‘प्रशासनको रोहवरमा कलेजका तर्फबाट गर्नुपर्ने भनी गरिएका सबै सम्झौता कार्यान्वयन गर्न तयार भए पनि विद्यार्थीका तर्फबाट गर्नुपर्ने काम हुन सकेको छैन,’ अध्यक्ष डा न्यौपानले भने, ‘विद्यार्थीले पठनपाठन सञ्चालन गराउने वातावरण नबनाउँदा एमबीबीएसलगायत अन्य सङ्कायका विद्यार्थीले कात्तिक २० गते हुने परीक्षाको फारम कात्तिक ८ गतेभित्र भरिसक्नुपर्नेमा नभरेको हुँदा सहमतिप्रति विद्यार्थी जिम्मेवार नबनेको प्रष्ट देखिन्छ।’
उनले आगामी भर्नाका विषयमा कलेजहरुको साझा संस्था एशोसिएसन अफ मेडिकल कलेज एण्ड डेन्टल कलेज अफ नेपालको निर्णयअनुसार गरिने बताए। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा विद्यार्थीलाई पूर्ववतरूपमा अध्ययनमा फर्कन, पढ्ने र पढाउने वातावरण सिर्जना गर्न अपिल गरिएको छ।


