काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौैलाले काम नगरेपछि नियमित डायलाइसिस गर्नुपर्ने अवस्था आएको बताएका छन्।
नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफू सिकिस्त बिरामी नभएको जानकारी दिँदै मिर्गौलाको डायलाइसिस भने नियमित गर्नुपर्ने अवस्था आएको बताएका हुन्।
सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले अब नियमित डायलाइसिस वा पुनः मिर्गौला प्रत्यारोपण गर्नुपर्ने दुई वटा मात्र विकल्प रहेको जानकारी सचिवालय सदस्यहरुलाई दिएको बैठकमा सहभागि एक सदस्यले बताए।
उनका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलाले काम नगरेपछि देखिएको समस्या समाधान गर्न ग्रान्डी अस्पतालमा दुई पटक डायलाइसिस गरिएको कुरा समेत बताएका थिए। उनले अब एक दुई दिनमा फेरि डायलाइसिस गर्ने जानकारी पनि प्रधानमन्त्रीले बैठकमा गराएका थिए।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे ब्रिफिङ गरेको बताएका थिए।
प्रधानमन्त्री ओलीको बोली उधृत गर्दै श्रेष्ठले भने,‘गम्भीर समस्या भएर सिकिस्त भएको होइन। चिकित्सकको परामर्श अनुरुप डायलाइसिस गरिएको हो।’
प्रधानमन्त्रीको नियमित डायलाइसिस गर्नुपर्ने अवस्था आएपछि केही चिकित्सकले बालुवाटारमा नै डायलाइसिस गर्ने व्यवस्था मिलाउन सुझाव समेत दिएका छन्।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको केही समय अघि सिंगापुरमा प्लाज्माफेरोसिस गरिएको थियो।