काठमाडौं- सातै प्रदेशका सरकारी अस्पतालमा कार्यरत दन्त चिकित्सकलाई मानिसको मृत्युपछि दाँतबाट सनाखत गर्ने दक्षता अभिवृद्धि तालिम सुरु भएको छ।
त्रिवि शिक्षण अस्पतालको दन्त विभाग र रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को संयुक्त आयोजनामा मंगलबारदेखि ३ दिने दक्षता अभिवृद्धि तालिम ललितपुरको गोदावरीमा सुरु भएको हो।
तालिमकी प्रशिक्षक तथा त्रिवि शिक्षण अस्पतालकी फरेन्सिक डेन्टिस्ट डा सामरिका दाहालले सनाखत के हो? मृत्युपछि दाँतको माध्यमबाट कसरी सनाखत गर्ने, कसरी रिर्पोट तयार गर्ने? रेर्कड कसरी राख्ने? पुलिसलाई दिने रिर्पोट कसरी तयार गर्ने ? लगायतका विषयमा तालिम दिइने जानकारी दिइन्। विभिन्न सरकारी अस्पतालमा कार्यरत २३ जना दन्त चिकित्सक तालिममा सहभागी छन्।
शिक्षण अस्पतालको दन्त विभाग र आइआरसी मिलेर आयोजना गरेको तेस्रो तालिम हो। चौथो तालिम आगामी मार्चमा चितवनमा गरिने डा दाहालले बताइन्। नेपालमा धेरै दुर्घटना हुन्छ।
धेरैजसो मानिसको सनाखत औँठा छाप र डिएनएको माध्यमबाट गरिन्छ। तर, दाँतबाट छिटो र थोरै उपकरणबाटै मानिसको सनाखत गर्न सकिने भएकाले पछिल्लो समय दाँतबाट सनाखत अर्थात फरेन्सिक डेन्टिष्ट्रीको विकास भइरहेको छ।
डा दाहाल भन्छिन्,‘मानिसको औँठा, डिएनए र दाँत अरुसँग मिल्दैन। यसमध्ये पनि दाँत हाम्रा लागि महत्वपूर्ण छ किनभने यो जल्दैन, हतपत भाँचिदैन र पहिचान गर्न सजिलो हुन्छ।’
त्रिवि शिक्षण अस्पतालका दन्त विभाग प्रमुख डा कृष्ण केसीले मानिस दुर्घटनामा पर्दा उसको अन्य अंग जलिहाले पनि दाँत जस्ताको तस्तै हुने भएकाले दाँतबाट मानिसको पहिचान गर्ने आधार हुने बताए।
उनले देशका हरेक जिल्लाका दन्त चिकित्सहरुलाई दाँतबाट सनाखत गर्ने तालिम दिन सकेमा विभिन्न घटना दुर्घटनामा परि मृत्यु भएका मानिसको सनाखत गर्न सजिलो हुने र काठमाडौंँसम्म धाउनुपर्ने बाध्यतामा कमी आउन सक्ने बताए।
शिक्षण अस्पतालका दन्त विभाग प्रमुख डा कृष्ण केसी, फरेन्सिक डेन्टिस्ट डा सामरिका दाहाल, आइसिआरसी भारतकी प्रतिनिधि डा दर्शना शर्मा, आइसिआरसी नेपालका फरेन्सिक विभागका शर्मिला गुरुङ, सन्देश श्रेष्ठले फरेन्सिक डेन्टिष्ट्रीबारे प्रशिक्षण दिनेछन्।